कलैया – बारा उद्योग वाणिज्य संघले हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन उद्योगी, व्यवसायी तथा व्यापारीलाई सहयोग गर्न अपिल गरेको छ । संघका महासचिव रामअशिष साह कानुले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । संघले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ ।
बाढीपीडित परिवारको तत्काल राहतका लागि संघको पहलमा राहत सामग्री संकलन तथा वितरण गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ । प्रारम्भिक चरणमा करिब ८ सय बोरा राहत सामग्री संकलन गर्ने लक्ष्य राखिएको संघले जनाएको छ । प्रत्येक बोराको लागत करिब ३ सय ५० रुपैयाँ पर्ने जनाइएको छ ।

 

राहत सामग्रीको प्रत्येक बोरामा चिउरा, भुजा, चाउचाउ र बिस्कुट राखिनेछ । संघले उद्योगी, व्यवसायी तथा व्यापारीलाई आफ्नो क्षमताअनुसार एक बोरा, दुई बोरा वा सोभन्दा बढी राहत सामग्री सहयोग गर्न आग्रह गरेको छ । ‘तपाईंले गरेको सानो सहयोग पनि विपदमा परेका कुनै परिवारका लागि ठूलो सहारा बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

 

विपद्को यस घडीमा सबै एकजुट भई बाढीपीडितको साथमा उभिन संघले आग्रह गरेको छ। संघले राहत सहयोग तथा समन्वयका लागि ९८४५१२८३९६ र ९८२१२२७०३० नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
विपद्को घडीमा एकता, सहयोग र मानवता नै पीडितका लागि ठूलो सहारा हुने संघले जनाएको छ ।

Leave a Reply