सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा माघ पहिलो सातादेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी हुने सो प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको हो ।उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले साताव्यापीरुपमा प्रतियोगिता आयोजना गर्ने र नगर भित्रका सबै विद्यालयलाई सहभागी गराउने गरी प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।माघ १३ गतेसम्म आयोजना हुने प्रतियोगिताको व्यवस्थापन जीतपुरसिमरा वडा नम्बर १४ स्थित जनता माध्यमिक विद्यालयले गर्नेछ । जनता माध्यमिक विद्यालय तेस्रो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको आयोजक विद्यालय हो ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम आयोजना गरिने प्रतियोगितामा विभिन्न सात खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कबड्डी, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, महिला फुटबल र पुरुष क्रिकेट हुने सचिवालय विद्यालयका प्रध्यानाध्यापक राजु अधिकारीले जानकारी दिनुभयो ।प्रतियोगितामा नगर क्षेत्रभित्रका विद्यालयलाई सहभागी गराउन निर्देशिकाले व्यवस्था गरे वमोजिम आइतवार सूचना प्रकाशन गरिने जनता माध्यमिक विद्यालयका प्रध्यानाध्यापक राजु अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सूचना प्रकाशित भएको १५ दिनभित्र विद्यालयले सहभागिता जनाउन सक्नेछन् ।प्रतियोगिता तयारीका लागि प्रत्येक खेलमा तीन सदस्यीय प्राविधिक टोली बनाइएको छ । उक्त प्राविधिक टोलीले खेल आयोजना गर्नका लागि सहजीकरण गर्नेछन् । प्रतियोगिता संचालन गर्न उपमहानगरपालिकाले १० लाख बजेट विनियोजन गरेको छ ।नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा जीतपुरसिमरा वडा नम्बर १४ की वडाध्यक्ष चयन गुरुङ, शिक्षा तथा खेलकुद महाशाखाका कर्मचारी खुदप्रसाद गौतम, खेलकुद विकास समिति बाराका प्रतिनिधि सुनिल साह, संस्थागत विद्यालयका रामप्रसाद अधिकारी, नेत्रप्रसाद दहाल, मालती कुमाल, सामुदायिक विद्यालयका फिरोज अंसारी, विष्णु सुवेदी, नव जनजागृति युवा क्लबका महासचिव शम्भु सिंह ठकुरी, तेक्वान्दो प्रशिक्षक बिजय शाह, कराँते प्रशिक्षक सानु पटेल, मनोज साह, श्रीराम साह कानु, क्रिकेट प्रशिक्षक सेराजुल अंसारी, भलिबल प्रशिक्षक प्रमोद चौधरी, एथलेटिक्स प्रशिक्षक लक्ष्मण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply