निजगढ,दुग्ध सहकारी संघ लिमिटेड (सीडीक्यान) ले दूग्ध उत्पादक किसानले भोग्नुपरेका समस्या समाधान नगरे सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।संघले आइतवार विज्ञप्ति जारी गर्दै दुग्ध उत्पादनका क्षेत्रमा किसानले भोग्नुपरेका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ । बजेट तथा नीति कार्यक्रममा कृषि र पशुपालनसँग सम्बन्धित २० वटा महत्वपूर्ण कार्यालयहरु खरेजी तथा अन्य निकायमा गाभ्ने सरकारको निर्णय सच्याउन तथा निर्णय फिर्ता लिन माग गरेको छ ।संघले दुग्ध विकास बोर्डको खारेजी तुरुन्त फिर्ता लिनुपर्ने, सीमा नाकामा रहेका पशु क्वारेन्टाइन कार्यालय, पशु तथा कृषिका केन्द्रीय प्रयोगशाला खारेजी गर्ने निर्णय फिर्ता लिनुपर्ने, लम्पी स्किन रोगबाट किसानले ठुलो क्षति भोग्नुपरिरहेको र यसको रोकथाममा आवश्यक उपचार र नेक्सानी भएका पशुको क्षतिपूर्ति तुरुन्त उपलब्ध गराइनुपर्ने र मिल्क होलिडेको अन्त्य गरी पशुपालन पेसालाई सुनिश्चित र व्यवसायिक रुपमा अगाडि बढाउने कार्यक्रम ल्याउन सरकारसंग माग गरेको छ ।त्यस्तै, किसानले खाइपाई आएको मूल्यमा कुनै पनि बाहानामा घटाउन नपाइने भन्दै संघले उद्योगले यसभन्दा अघिको सम्झौता अनुसार खरिद गरिरहेको दुध कुनै पनि बाहनामा कटौती गर्न नहुने, दुधको उत्पादन लागत कम गरि विदेशी उत्पादनसंग प्रतिस्पर्धा गर्नसक्ने अवस्था सृजना गर्नुपर्ने, प्रत्यक्ष किसानले प्राप्त गर्ने गरि उत्पादनका आधारमा अनुदानका कार्यक्रम घोषणा गर्नुपर्ने, विदेशबाट आउने जुनसुकै कच्चा दुध तथा दुग्धजन्य पदार्थ पूर्ण रुपले बन्द गर्नुपर्ने र सहकारीको माध्यमबाट पशुधन संरक्षण कार्यक्रम लागु गर्नुपर्नेलगायतका माग पनि संघले राखेको छ ।आफ्ना मागहरु सम्बोधन नभए आउँदो साउन २८ गतेदेखि संघले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । संघले सार्वजनिक गरेको संघर्षको कार्यक्रम अनुसार श्रावण २८ गते सबै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने, ३० गते काठमाडौंको मन्त्री क्वाटर पुल्चोकमा ब्यानर कार्ड हित प्रदर्शनी गर्ने, श्रावण ३१ गते बालुवाटार घेराउ गरी धर्ना बस्ने र माग पुरा नभएमा श्रावण ३२ गते पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ जनाएको छ ।


















