जनकपुरधाम,जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आइतवारदेखि विधिवत शुरु भएको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आइतवार जनकपुरधाम नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन सोमवार फूलबारी लीला, तेस्रो दिन मङ्गलवार धनुष यज्ञ, चौथो दिन बुधवार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।
महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ ।नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।
त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ । महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।
यसैबीच निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गर्नुभएको छ ।
हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ । मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गर्नुभएको थियो ।
महोत्तरीमा विवाहपञ्चमीको रौनक
जलेश्वर,प्रत्येक पाँच वर्षको अन्तरालमा धुमधामसँग भारतको अयोध्याबाट जन्ती आएर नेपालको जनकपुरमा मनाइने भगवान रामचन्द्र र माता सीताको विवाहोत्सव (विवाहपञ्चमी उत्सव) को रौनक आइतवारदेखि महोत्तरीमा देखिन थालेको छ ।अनादिकालदेखि नै महोत्तरी र धनुषाका विभिन्न स्थानमा विवाहका विभिन्न विधि सम्पन्न गरी मनाइने गरेको विवाहपञ्चमी उत्सवको रौनक महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका र पिपरा गाउँपालिमा देखिएको छ ।
पाँच वर्षको अन्तरालमा जन्ती मिथिलाको धर्तीमा आउन लागेका कारण प्रवेशद्वारमै रहेको मटिहानी र जलेश्वर तथा पिपराका बासिन्दा जन्तीको स्वागत, सत्कार र दर्शनका लागि आतुर देखिएका छन् । अयोध्याबाट निस्केको जन्ती भारतका विभिन्न स्थान हुँदै जनकपुर आउनका लागि महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकास्थित नेपाल भारत सीमाबाट प्रवेश गर्ने मुख्य प्रवेशद्वार रहेका कारण जलेश्वर र मटिहानीमा आजदेखि विवाहपञ्चमीका लागि आउने जन्तीको स्वागत, सत्कार, विश्राम र वैदिक विधिका विभिन्न तयारी भइरहेको जलेश्वरका नगर प्रमुख सुरेश साह सोनारले बताउनुभयो ।
त्यस्तै महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक पाँच वर्षमा धुमधामका साथ एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने गरेको विवाहपञ्चमी उत्सवको रौनक यसपाली अझ बढी थपिएको छ । यसपाली मटिहानीका प्रत्येक घर घरको अगाडिमा कलश, फूलमाला र अबिर लिएर स्थानीय जन्तीलाई स्वागत गर्न आतुर रहेका छन् भने भगवान रामको डोला (प्रतिमा)सहित आउँदै गरेका जन्तीका लागि गएरातिदेखि नै मटिहानीको घर घरमा दीपावलीसमेत गरिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णवले बताउनुभयो । मटिहानीमा आज र भोलि राति पनि भगवान रामचन्द्र र जन्तीको स्वागतमा दीपावली मनाइने कार्यक्रम रहेको छ ।
त्यस्तै जन्तीको बाटोमै पर्ने पिपरा गाउँपालिकामा जन्तीको भोजन तथा विश्राम रहने गरेका कारण त्यहाँ पनि अहिले जन्तीको भोजन र विश्रामका विभिन्न जोरजामका क्रियाकलाप धुमधामका साथ भइरहेको गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले बताउनुभयो । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान रामचन्द्र र जनकपुरका राजा जनकका छोरी माता सीताको विवाह ऐतिहासिक एवं धार्मिक नगरी जनकपुरधाममा भएको दिनलाई सम्झदैं प्रत्येक पाँच वर्षमा अयोध्यादेखि जनकपुर जन्ती आउने र विवाह उत्सव सम्पन्न हुने परम्परा चलिआएको छ ।
सो अवसरमा भगवान रामचन्द्रको जन्मभूमि अयोध्याबाट जन्तीमा भगवान रामचन्द्रको प्रतिमा लिएर हजारौँ साधु, सन्त, महात्मा र अयोध्याबासीसहित भारतका प्रसिद्ध तथा प्रख्यात मठ मन्दिरका महन्त, जोगी सन्यासी विवाहपञ्चमी उत्सवमा सहभागी हुने चलन रहेको छ ।सयौँ रथ, बाजागाजा, नाच तमाशा, घोडा, हात्ती र लाबा लस्करसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने गरेका छन् । जनकपुरमा त्रेतायुगमा भएको माता सीताको विवाहको बेला महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ७ मा अवस्थित लक्ष्मी सागरमा मटकोर विधि र वेदीको माटो खन्ने विधि गरिएको प्रचलन अझै पनि जारी रहेको तथा यस वर्ष पनि सो कार्यक्रम धुमधामसँग गरिने कार्यक्रम रहेको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथदास वैष्णवले बताउनुभयो ।
आउँदो शुक्रवार जनकपुरधाममा हुने विवाह पञ्चमीका लागि अयोध्याबाट जन्ती हिँडिसकेको छ भने सोमवार जन्ती मुख्य प्रवेशद्वार मटिहानी नगरपालिकाको सीमामा प्रवेश गर्नेछन् । कतिपय साधु, सन्त, महात्मा र अन्य जन्ती जिल्ला सदरमुकाम जलेश्वरको बाटो भएर पनि नेपाल प्रवेश गर्नेछन् ।
जन्ती सबैभन्दा पहिले मटिहानी नै प्रवेश गर्ने हुँदा मटिहानीबासीहरुले जन्तीलाई फूलमाला, अबिर लगायतले स्वागत गर्ने चलन रहेको छ भने जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाह पूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन रहेको छ ।महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाहपञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउँदै आएका छन् । विवाहपञ्चमीको अवसरमा प्रत्येक पाँच वर्षमा जनकपुर धाममा आठ देखि १० लाखसम्म भक्तजन विवाहपञ्चमी उत्सवमा सहभागिता जनाउने गर्दछन् ।



















