कलैया,बारा जिल्लाको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा रहेको पञ्चवर्षीय गढीमाई मन्दिरका भक्तजन र दर्शनार्थीका लागि शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवले कर्मचारीलाई विशेष निर्देशन दिनुभएको छ ।शनिवार बिहान गढीमाई मन्दिरमा पूजा गर्दै मन्त्री यादवले मेला व्यवस्थापनका लागि भइरहेको तयारीको स्थलगत अवलोकन गर्दै स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग छलफलमा मन्त्रालयका कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो । सोही क्रममा उहाँले गढीमाई मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि शुद्ध खानेपानी र शौचालयको उचित व्यवस्था गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, “अघिल्लो पञ्चवर्षीय मेलामा खानेपानी र शौचालयको अभावका कारण भक्तहरूले धेरै समस्याको सामना गर्नुपरेको थियो । यसपालि त्यस्ता समस्याहरूलाई रोक्नका लागि हामीले समयमै उचित प्रबन्ध गर्नुपर्छ ।”
मन्त्री यादवले गढीमाई मेला अवधिभर मन्त्रालयका कर्मचारीलाई पानीको शुद्धतामा मापन यन्त्र जडान गर्न र त्यसको सञ्चालन र व्यवस्थापन गर्न पनि निर्देशन दिनुभयो । “हामीले पानीको गुणस्तरमा कुनै प्रकारको सम्झौता गर्न सक्दैनौँ । श्रद्धालुहरूले शुद्ध पानी प्रयोग गर्नपाउनु पर्छ । यसका लागि आवश्यक व्यवस्था मिलाउने छौँ ।” उहाँले भन्नुभयो ।
यसका साथै, उहाँले प्रदेश सरकारका प्रतिनिधिहरूलाई बरियारपुर क्षेत्रमा विभिन्न स्थानमा डीप बोरिङ जडान गर्नका लागि पनि निर्देशित गर्नुभएको छ । “गढीमाई मन्दिरको वरिपरि पर्ने स्थानहरूमा पानीको अभाव हुन नदिनका लागि पर्याप्त जल स्रोतको प्रबन्ध गर्न अत्यावश्यक छ ।” उहाँले जोड्नुभयो ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले गढीमाई मन्दिर र मेला मधेसको लागि मात्र नभई नेपालका लागि महत्वपूर्ण पहिचान भएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो यस क्षेत्रको संस्कृति, परम्परा र धार्मिक आस्थाले यसलाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाउँछ । यसलाई प्रवद्र्धधन गर्नका लागि हामीले विशेष ध्यान दिन आवश्यक छ ।”
उहाँले थप्नुभयो, “गढीमाई मेला मात्र धार्मिक आस्था प्रकट गर्ने स्थान होइन, यसले आर्थिक र सांस्कृतिक दुवै पक्षलाई समेट्ने गर्दछ । यहाँ आउने भक्तजनहरूले स्थानीय व्यवसायमा पनि योगदान पु¥याउने छन्, जसले समग्र क्षेत्रमा आर्थिक गतिविधिलाई तीव्रता दिनसक्छ ।” गढीमाई मेला आयोजनामा सरकारले स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धन गर्ने अवसरका रूपमा लिने आवश्यकता रहेको उहाँको भनाई थियो ।
मन्त्री यादवले मेला सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताउँदै श्रद्धालुहरूको सुविधा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।उहाँले गढीमाई मेला अवधिभर स्थानीय सरकारले, सरोकारवाला निकायहरूसँग मिलेर प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । “हामीले यस क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै विश्व स्तरीय व्यवस्था गर्नुपर्नेछ । यसका लागि हामी सबैले मिलेर काम गर्नुपर्छ ।” उहाँले जोड्नुभयो ।
गढीमाई मन्दिर र मेला क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुहुँदै उहाँले समग्र समाजको विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । यसका लागि उहाँले स्थानीय बासिन्दा, धार्मिक संस्थाहरू र सरकारबिचको समन्वय महत्त्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।कार्यक्रममा पूर्व मन्त्री एवम् बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान), संविधान सभाका सदस्य प्रमोद गुप्ता, गढीमाई मेला मूल आयोजक समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादव, जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा, स्थानीय युवा नेता सञ्जय सर्राफ, मेला आयोजक समितिका पदाधिकारीहरू र अन्य स्थानीय अगुवाहरूको उपस्थिति थियो ।मन्दिरमा मङ्सिरको दोस्रो सातादेखि पञ्चवर्षीय मेला लाग्नेछ, जुन विश्वभर पशु बलि दिने परम्पराका लागि प्रख्यात छ ।


















