निजगढ,निजगढ नगरपालिका वडा नंं ७ स्थित सहासी महिला समूहको आयोजनामा शनिवार डेङ्गु विरुद्धको सचेतना कार्यक्रमको आयोजना गरिएको छ । वडा कार्यालयको समन्वयमा शनिवारबाट सुरु भएको वृहत सरसफाइ अभियानसंगै महिला समुहले पनि लिची टोलमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार धितालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले डेङ्गु रोगबाट बच्ने उपायको बारेमा जानकारी दिनुभएको थियो ।

सहासी महिला समुहकी अध्यक्ष गंगा गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाकी कोषाध्यक्ष शोभा बर्देवाले स्वागत मन्तव्य व्यक्त र कार्यक्रम संचालन रत्ना बर्तौलाले गर्नुभएको उपाध्यक्ष शान्ति नेपालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत धितालले महिला समूहले नाम जस्तै काम पनि सहासी गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।
त्यसैगरी वडा नम्बर ९ मा पनि शनिवारबाट वडामा सरसफाइ र स्प्रे अभियान सुरु भएको छ । वडा अध्यक्ष रामचन्द्र कटुवालले दिएको जानकारीअनुसार वडामा रहेका सबै टोल विकास संस्थालाई एकैपटक परिचालन गरेर सरसफाइसंगै डेङ्गु विरुद्धको औषधि पनि छर्किन लागिएको हो । यसको लागि वडामा रहेका ११ वटै टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरुलाई वडा कार्यालयले बिहान ७ बजे प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा भेला गराएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधिसहतिको टोली खटाइएको र वडाको सबै टोलमा पुगेर सरसफाइसंगै औषधि पनि छर्किन वडा अध्यक्ष कटुवालले जानकारी दिनुभयो । त्यसैगरी वडा नम्बर ५ र ६ मा पनि शनिवारबाट सरसफाइसंगै औषधि छर्कने अभियान सुरु भएको छ ।

















