कृष्णमोहन साह
सेडवा, २२ साउन– चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्जबाट आएका वन्यजन्तुले पाल्तु चौपायलाई मार्ने र बाली खाने क्रम बढेपछि पर्साको ठोरी गाउँपालिकाका किसान चिन्तित बनेका छन ।
निकुन्जमा सिमा जोडिएको वस्तिमा पसेर बाघ बाख्रा मार्ने र हात्तीले बाली खाएर नष्ट पार्ने क्रम बढन थालेपछि किसान चिन्तित बनेका हुन ।
ठोरी गाउँपालिका वडा– ४ मिलनचोकमा केहि दिनयता दिनहुँजसो बाघले बाख्रा मार्न थालेको कुसुमबाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टङ्कप्रसाद तिमिल्सिनाले बताउनुभयो ।
सोमबार राति पनि वडा नम्बर ४ मिलचोककी कान्छी कार्की र सुनकाजी पाख्रिनको गोठमा बाँधेको बाख्रा बाघले मारेको थियो । गत शुक्रबारदेखि लगातारजसो वस्तिमा पसेर बाघले बाख्रा मारेको उहाँले बताउनुभयो । यसअघि सोहि वडाको सुन्दरटोलकी बिनु मगर, शान्तिटोलका बहादुर पाख्रिन र पिपलडांँडाका इन्द्र परियारको बाख्रा पनि बाघले खोरमै झम्टरे मारेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
वन्यजन्तुले खोरबाट नै पाल्तु जनावर मारेको अवस्थामा निकुन्ज प्रशासनले पशु प्राविधिकको मुल्याङ्कनअनुसार पिडितलाई अधिकतम १० हजारसम्म क्षतिपूर्ति दिने गरेको भएपनि प्रक्रिया झन्झटिलो भएकोले किसानले सहजरुपमा सो रकम पाउन नसेको उहाँले सुनाउनुभयो ।
निकुन्जको जंगलबाट आउने बाघले दिनहुँ किसानको खोरमा पसेर बाख्रा मार्न थालेपछि स्थानीय चिन्तित बनेका छन । पछिल्लो एक हप्तामा यतामात्र गाउँपालिकाको वडा नम्बर– ४ मा बाघले ५ ओटा बाख्रा मारेको उहाँले जानकारी दिनुभयो ।
निकुन्जसंग सिमा जोडिएका वस्तिमा बाघसंगै बढेको जंगली हात्तीको आतङ्कले स्थानीय थप समस्यामा परेका छन ।
चितवन राष्ट्रिय निकुन्जको जंगलबाट आएको हात्तीको बथानले ठोरी वडा नम्बर– ३ मा वितेको २ सातादेखि बाली खाएर र घर भत्काएर स्थानीयलाई दुःख दिदै आएको छ । हात्तीको बथानले खेतबारीमा लगाएको धानबाली खाएर र घरसमेत भत्काएर दुःख दिएको सिकारीबासका राजेन्द्र चौधरीले बताउनुभयो ।
एक साताअघि वस्तिमा पसेको हात्तीले स्थानीयको घर भत्काएको र धानबालीमासमेत क्षेति पुरयाएको चौधरीले सुनाउनुभयो । सोही वडामा पर्ने नयाँवस्तिमा पनि २ साता अघिदेखि हात्तीको बथानले दिनहुँ दुख दिदै आएको छ ।
राति दर्जनभन्दा बढीको संख्यामा निकुन्जबाट वस्ती पसेको हात्तीको बथानले स्थानीय १० जना किसानको ५ बिगाहा भन्दा बढी धानबालीमा खाएर नष्ट पारेको सिकारीबास सामुदायिक वन समितिका अध्यक्ष सुर्य थिङ्ले जानकारी दिनुभयो । उहाँकाअुनसार साँंझ पर्ने बित्तिकै हात्ती वस्तिमा छिरेर आतङ्क मच्चाउने गरेको छ । उहाँकाअनुसार स्थानीयले रातभर जाग्राम बसेर वस्ति पसेका जनावर धपाउने गरेका छन । ‘एकातिर हात्तीको बथान आउँछ, अध्यक्ष थिङ्गले भन्नुभयो, अर्कोतिर बाघ, धपाउदाधपाउदै रात बित्छ । हात्तीले दुःख दिने क्रम बढेपछि नयावस्तीका बासिन्दाहरु २ सातादेखि राति घरमा पनि राम्ररी निदाउन नपाएको उहाँले सुनाउनुभयो ।
जगंली जनावरको आतङ्क बढेपछि स्थानीय साँझ÷बिहान हुलाकी सडक खण्डअन्तरगत पर्ने सिकारीवासको जङ्गलको बाटो आवतजावत गर्न पनि नसक्ने अवस्थामा छन । गाउँमा कोही बिरामी वा अप्ठ्यारोमा परे भने गाउँभरीका युवालाई भेला पारेर सिकारीबासको बाटो काटने गरेको अध्यक्ष थिङले सुनाउनुभयो ।
वन्यजन्तुले स्थानीयलाई यसरी दुःख दिदासमेत चितवन राष्ट्रिय निकुन्ज प्रशासन भने बेवास्ता गरेर बसेको आरोप छ । पटकपटक निकुन्ज प्रशासनलाई हात्ती आतङ्कक बारेमा जानकारी गराएको भएपनि रोक्ने उपायको बारेमा निकुन्ज्ले कुनै चासो नदेखाएको उनीहरुको भनाइ छ ।
उता वडा ४ मा स्थानीयले जंगल छेउमा गरेको सोलार फेन्सका कारण अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष हात्तीले कम दुःख दिएको भएपनि वस्तिमा बाघ पसेर बाख्रा मार्ने क्रम भने थप बढेको छ ।