रौतहट २ कार्तिक । सञ्चालनकै अवस्थामा रहेको श्रीराम सुगर मिल्सलाई बन्द गरी व्यवस्थाापन पक्षले जग्गा विक्रीवितरण गर्न खोजेपछी स्थानीय बासिन्दाहरुले विरोध जनाउन थालेका छन् ।

कौडीको मुल्यमा खरिद गरेको जग्गा अहिले अर्बोको सम्पती भएपछि व्यवस्थापन पक्षले भूमाफियाको सहयोगमा बिक्री गर्न षडयन्त्र गर्न थालेपछि स्थानीय बासिन्दा तथा मजदुरहरु विरोध जनाउन थालेका छन् ।

रौतहटको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्सलाई व्यवस्थापन पक्षले एक्कासी बन्द गरी अर्बो मुल्य बराबरको जग्गा बिक्री वितरण गर्न खोजेपछी मिल्स कर्मचारी तथा स्थानीय बासिन्दाहरुले विरोध व्यक्त गर्दे जग्गा बिक्री वितरण हुन नदिन सक्रिय भूमिका खेल्न थालेका छन् ।

वि.स. २०५० सालमा गोल्छा ग्रुपका सञ्चालक दिवाकर गोल्छाले स्थापना गर्नुभएको सुगर मिल तीन वर्ष अघि व्यवस्थापन पक्षले एक्कासी सूचना जारी गर्दे बन्द गरेको थियो । प्रत्येक वर्ष सिजनमा नाफा गर्दे आएपनी सुगर मिल एक्कासी बन्द भएपछी रौतहटका उंखु किसान तथा मजदुरहरु समस्यामा परेका छन् ।

प्रति दिन ३ हजार बोरा चिनि उत्पादन गर्ने क्षमता भएको श्रीराम सुगर मिललाई व्यवस्थापन पक्षले घाटामा गएको कारण देखाउंदै मिल पूर्ण रुपमा बन्द गरी कार्यरत कर्मचारीहरुलाई समेत जागिरबाट निकालेको संघर्ष समितिका अगुवा नेता बृजकिशोर यादवले बताउनुभयो ।

मिल स्थापनाका बेला स्थानीय बासिन्दाहरुसंग सात हजारका दरले प्रति कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा आएको मिल अहिले जग्गाको आकाशिएको मोल देखेर व्यवस्थापन पक्षले मिल बन्द गरी जग्गा बेच्न लागेको आरोप यादवको रहेको छ । सय वर्ष सम्म मिल सञ्चालनमा हुन्छ भन्दै तत्कालिन व्यवस्थापन पक्ष गोल्छा गु्रपले हामीसंग कौडीको मुल्यमा जग्गा लियो तर, मिल २५ वर्षसम्म सञ्चालन नहुंदै बन्द गरेर जग्गा बेच्न विभिन्न षडयन्त्रहरु गर्दे आएको यादवको भनाई रहेको छ ।

गोल्छा गु्रपका मालिक दिवाकर गोल्छा जिउंदो रहेसम्म राम्ररी मिल सञ्चालनमा रहेको थियो उनको मृत्यु पश्चात छोराहरुले विशाल गु्रपसंग समन्वय तथा पार्टनरशिप जोडेर जग्गा बेच्न लागेको आरोप रौतहटेली किसानहरुको गुनासो रहेको छ ।
मिलको नाममा अहिले ७८ बिध्धा नामसारी जग्गा तथा मिलले हकभोग गर्दे आएको दश बिध्धा एलानी जग्गामा मिल सञ्चालनमा रहेको छ । गौर चन्द्रनिगाहपुर सहायक राजमार्गसंगै जोडिएको मिलको अगाडीको करिब ३० बिध्धा जग्गा अहिले अर्बो रुपैया बराबरको रहेको छ । प्रति बिध्धा जग्गाको बजार मुल्य ३ करोड रुपैया पर्ने गरेको छ ।

मिल सञ्चालन गर्न खासै रकमको आवश्यकता नभएको बताउंदै स्थानीय मजदुरहरुले मिल परिसर भित्र बेबारिसे रहेको फलामका कवाडहरु बेचेर मिल सञ्चालनमा आधा खर्च उठ्ने विश्वास व्यक्त गरेका छन् । किसानहरुले एक वर्षसम उखु उघारोमै दिन्छन उनले भने मिल सञ्चालन गर्न कुनै कठिनाई नभएपनी व्यवस्थापन पक्षले चासो लिएका छैनन् ।

मिल सञ्चालन हुंदा तीन सयको हाराहारीमा स्थानीय बासिन्दाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाएका थिए भने उखु क्रसिग को सिजनमा एक हजार भन्दा बढीले रोजगारी पाएका थिए । मिल सञ्चालनमा रहदा सो क्षेत्रका कुनै पनी व्यक्ति रोजगारीका लागि विदेशिने क्रम थिएन भने अहिले अधिकांश व्यक्तिहरु रोजगारीकै लागि नेपाल, भारत तथा विदेशको विभिन्न शहरमा काम गर्न गएका छन् ।

Leave a Reply