निजगढ,बाराको कोल्हबीमा मृत अवस्थामा फेला परेको जंगली हात्तीको मृत्यु कारणबारे अनुसन्धान गरिरहेको डिभिजन वन कार्यालय सिमराले कोल्हबी नगरपालिका कार्यालयसंग हात्ती मरेको स्थानको जग्गा धनीहरुको नाम माग गरेको छ ।
वन कार्यालयका अनुसन्धान अधिकृत नेपाली साहले बिहीवार नगरपालिका कार्यालयलाई पत्र पठाएर हात्ती मरेको स्थान कोल्हबी वडा नम्बर २ पर्साकुनामा रहेको धानखेत धनीको नाम, थर र ठेगाना माग गरेको हो ।

खेतका धनीले थापेको विद्युतीय धरापमा परेर हात्ती मरेको हुनसक्ने आशंकामा नगरपालिका र वडा कार्यालयसंग उनीहरुको विवरण माग गरिएको अनुसन्धान अधिकृत साहले बताउनुभएको छ ।अनुसन्धान अधिकृतको टोलीले स्थानीयसंग गरेको सोधपुछको क्रममा जग्गाको अवस्था र धनीको आधिकारिक विवरण प्राप्त गर्न नसकेपछि नगरपालिका कार्यालयसंग विवरण माग गरेको हो । टोलीले धानखेत नम्बरी भए नभएको बारेमा पनि अनुसन्धान गरिरहेको छ । ‘घटनास्थलको जिपिएस लोकेशन पनि लिएका छौं, उहाँले भन्नुभयो, तर जमिनको हैसियत आधिकारिक रुपमा पत्ता लगाउन नापी कार्यालय बाराबाट पनि नक्सा माग गरिएको छ ।’ उहाँले हात्तीको पोष्टमार्टम रिपोर्ट पनि प्राप्त हुने क्रममा रहेको जानकारी दिनुभएको छ । ‘अनुसन्धान जारी छ, साहले भन्नुभयो, सबै विवरण प्राप्त भएपछि मात्रै हात्तीको मृत्युको कारण पत्ता लाग्नेछ ।’

कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित भलुहिखोरमा तामागढी साझेदारी वन क्षेत्रको सीमामा पर्ने स्थानीय रमेश जिसीको धान खेतको डिलमा गत आइतवार मृत हात्ती फेला परेको विद्युत प्रवाह भएको जिआइ तारमा अल्झेर मरेको अनुमान वन सुरक्षाकर्मीले गरेका छन ।वन्यजन्तुबाट धानबाली जोगाउन खेतको आलीमा जडान गरिएको विद्युत प्रवाह भएको जिआइ तारमा अल्झेर हात्ती मरेको अनुमान गरिएको हो ।

सुरक्षाकर्मीको टोलीले घटनास्थालबाट करिव डेढ सय मिटर पश्चिममा रहेको सन्तमान विकको घर अडाडिबाट तानिएको करिव १५० मिटर जिआई तार र हुकिङ्गको लागि प्रयोग गरिने बाँसको एउटा भाँटा पनि फेला पारेर नियन्त्रणमा लिएको थियो । विकले भने करेन्ट प्रवाह भएको तारले घेराबारा गरिएको खेत आफ्नो नभएको र राति अरु कसैले आएर सो तारमा बिजुली प्रवाह गरेको हुनसक्ने बताउनुभएको थियो ।हात्ती, बाघ जस्ता ठूला र अन्य साना वन्यजन्तुको बासस्थानको रुपमा रहेको तामागढी क्षेत्रमा वन्यजन्तु र स्थानीयबीच निकै पहिलेदेखि नै द्वन्द चल्दैआएको छ । सो क्षेत्रमा हात्तीको बथानले किसानको बाली र बाघले घरपालुवा चौपाय मार्ने क्रम चल्दैआएको हो । स्थानीयले पनि वन्यजन्तुमाथि आक्रमण र चोरी सिकारी गर्दैआएका छन ।हात्तीको आक्रमणबाट सोही क्षेत्रमा ४ वर्षअघि एक महिलाको ज्यान गएको थियो भने ५ महिनाअघि उक्त क्षेत्रमा एउटा पाटे बाघ टाउकोमा गोली लागेर मरेको अवस्थामा फेला परेको थियो ।

Leave a Reply