वीरगन्ज,मध्य नेपाल मिडिया प्रा.लिद्धारा संचालित मध्य नेपाल पत्रिकाको पाँचौ वार्षिक उत्सव शुक्रबार सम्पन्न भएको छ । महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देश पत्रिकाका पाँचौ बार्षिक उत्सव समपन्न भएको हो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार भएको कार्यक्रममा ‘पत्रकारिता क्षेत्रमा महिलाहरुको अवसर र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेमा सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन कार्ययोजना बनाउने काम भइरहेको बताउनुभएको थियो । आर्थिक भारबाट बन्द हुने अवस्थामा पुगेका स्थानीय अब्बल पत्रिकालाई प्रथमिकतामा राखी अगाडि बढने पनि उहाँले बताउनुभयो । पहुँचको आधारमा विज्ञापन दिने प्रथालाई समेत निरुत्साहित गरिने मन्त्री साहले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भीर रहेको भन्दै सञ्चार संस्थालाई वर्गीकरण गरेर त्यसकै आधारमा लोककल्याणकारी विज्ञापन उपलब्ध गराइने प्रतिवद्धतासमेत जनाउनुभयो ।

प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता सामाजिक विकृतिले पनि महिलाहरुलाई मुलधारमा ल्याउन समस्या भएको हुँदा सञ्चार माध्यममार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुप बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । राज्यको चौथो अंग मानिने पत्रकारिता क्षेत्रबाट समाजको रुपान्तरण गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पु¥याउने कार्यको उहाँले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पर्सा जिल्लामा सबैभन्दा बढी न्याय सम्पादन गर्नुभएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, महिला स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने प्रभु हस्पिटलकी संचालक डा. लक्ष्मी थापा, पत्रिकामा समाचार, लेख, रचना लगायतका सामग्री उत्पादन गर्ने पत्रकार शोभा धमला र सबनम भट्टराईलाई पनि सम्मान गरिएको थियो । यस्तै, कोरोना कालमा फ्रन्टलाईनमा खटेर जनतालाई सुसुचित गर्ने एम्बुलेन्स चालकहरु मुमताज मियाँ र रामनेरश यादवलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी बल पर्साका एसपी राजेन्द्र खड्का, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, नेकपा माओवादी केन्द्र प्रदेश नं. २ का प्रदेश सदस्य छोटेलालप्रसाद यादव, प्रदेश सांसद भिमा यादव, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारी, उद्योग बाणिज्य संघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, पूर्वअध्यक्ष अशोक बैध, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष मधु राणा, समाजसेवी पशुपति विक्राम शाह, उषा शाह लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी मन्त्री साहले इलाका प्रहरी कार्यालय निजगढको नयाँ भवन निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । वीरगन्जमा एक कार्यक्रममा सहभागी हुने जाने क्रममा मन्त्री साहले इलाका प्रहरी कार्यालय निजगढको निरीक्षण गरेपछि शुक्रबार सो कुरा बताउनुभएको हो । मन्त्री साहले चालू आर्थिक बर्षमा बजेट नछुट्याइएको भएपनि आगामी वर्षको रातो किताबमा राखेर भवन निर्माणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री साहले बजेट पारित भइसकेको र भवन निर्माणमा रकम बिनियोजन गर्न नसकिएकोले अर्को वर्ष भने रकम उपलब्ध गराउने बताउनुभएको हो ।

सोही अवसरमा प्रदेश प्रहरी वल गठनको तयारी पनि आफुले गरिरहेको मन्त्री साहले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको भन्दै प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले नयाँ भवन निर्माणको लागि अनुरोध गरेपछि मन्त्री साहले भवन निर्माणको प्रतिवद्धता जनाउनु भएको हो । कार्यक्रममा स्थानीय माओवादी केन्द्रका कार्यकर्ता, संचारकर्मी र सुरक्षाकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here