सिमरा,जीतपुरसिमरा उपमहानगरमा हाजिर गर्न भनी आउनुभएका सहसचिव वीरेन्द्र देव भारती हाजिर नगरी काठमाण्डौं फर्किने हुनुभएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विवाद सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा नेपाल सरकारको सहसचिव भारती उपमहानगरपालिकामा सोमवार हाजिर हुनआई पुग्नुभएको थियो ।

२०८१ भाद्र २७ गते नेपाल सरकार (मन्त्रिपरिषद्) को बैठकले जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा भारतीलाई खटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भारती सोमवार विहान सिमरा आउनुभएको हो ।
उपमहानगरपालिकाका मेयर राजन पौडेलले आइतवारनैं सहसचिव वीरेन्द्र देव भारतीलाई आफुले उपमहानगरपालिकाको कार्यालयमा हाजिर गराउन असर्मथ रहेको भनी पत्रचार गर्नुभएको थियो । मेयर पौडेलले गरेको पत्रचारमा कानुनी अवरोध रहेकोले हाजिर गराउन असर्मथ रहेकोले भन्दै भारतीलाई जानकारी गराउनुभएको थियो ।उपमहानगरपालिकाको कार्यालय पुगेर मेयर पौडेल र उपमेयर भोलाप्रसाद अधिकारीसँग भेटेर सामान्य छलफल गरी हाजिर समेत नगरी सहसचिव भारती कार्यालयबाट बाहिरिनुभएको थियो ।
यसैबीच सहसचिव भारतीले आफु नेपाल सरकारको कर्मचारीको रुपमा रहेको र नेपाल सरकारले खटाएको ठाँउमा जानु पर्ने आफ्नो कतव्र्य भएकोले सरकारले खटाएको कार्यालयमा हाजिर हुन उपस्थित भएको तर राजनीतिक विवादमा आफु पर्न नचाहेको बताउनुभएको थियो ।उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको विषयको मुद्दा सर्वोच्च अदालतमा विचराधिन रहेकोले आफु हाजिर हुदाँ अदालतको अवहेलना हुने भएकोले हाजिर नगरी काठमाण्डौनैं फर्किएर मन्त्रालयलाई सम्बन्धित विषयको जानकारी गराउने उहाँले बताउनुभएको छ ।


















