आरके राजन
सिम्रौनगढ,आफूले लेखेको पुस्तक बिक्री गरेर वीरगञ्जस्थित कृषि औजार कारखाना संचालन गर्ने अभियान चलाउदैआउनुभएका राष्ट्रिय अनुसन्धान केन्द्रका वैज्ञानिक डा. महावीर पुन सोमवार बाराको सिम्रौनगढ नगरपालिका आइपुग्नुभएको छ ।पूर्व पश्चिम अभियान अन्तर्गत सिम्रौनगढ आइपुग्नुभएका पुनलाई नागरिक समाजको तर्फबाट भव्य स्वागत गरिएको थियो । उहाँको मुख्य उद्धेश्य आफुले लेखेको आफ्नो आत्मा कथासम्बन्धि पुस्तक बेच्नु र त्यसबाट प्राप्त रकमबाट कृषि औजार कारखाना सन्चालन गर्नु हो ।

सिम्रौनगढका स्थानीयसंग कुरा गर्दै उहाँले सिम्रौनगढ ऐतिहासिक, पर्यटकीय र धार्मिक महत्व बोकेको स्थल भएकोले यसको विकासको ठूलो सम्भावना रहेको उहाँले बताउनुभयो । ‘मधेसका अन्य ठाउँको तुलनामा यो ठाउँले अत्यन्तै धेरै शंभावना बोकेको छ, उहाँले भन्नुभयो, यसको उचित संरक्षण र विकास जरुरी छ ।’
आफ्नो अभियान यात्रा र पुस्तकको बारेमा उहाँले पुस्तक आफ्नै आत्मकथाको रुपमा रहेको र जीवनमा घटेका सबै कुरा समेटिएको बताउनुभयो । पुस्तकमा कृषि औजार कारखाना संचालन सम्बन्धमा सरकारसंग भएको सम्झौता पनि राखिएको पनि उहाँले जानकारी दिनुभयो । पुनका अनुसार हालसम्म पुस्तक बिक्रीबाट ९ करोड रुपैया संकलन भइसकेको र थप २० करोडको पुस्तक बेच्न लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।सो अवसरमा नागरिक समाज सिम्रौनगढका अध्यक्ष अरबिन्द कुशवाहा, सुजितकुमार कुशवाहा, वीरबहादुर कुशवाहा, समाजसेवी बतहु यादव, महेन्द्र कुशवाहा, मनोज जयसवाल, मोहन अग्रहरीलगायत स्थानीय भद्रभलादमी र सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।



















