निजगढ,बाराको निजगढ–१० लालस्थित बुद्धचोक मिनि रङ्गशालामा आयोजित चौथो ल्होछार कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक योङ स्टार युनाइटेड क्लबले उचालेको छ ।शनिबार सम्पन्न फाइनलमा खेलमा योङ स्टारले युनाइटेड युवा क्लब, बर्दिबास–८, महोत्तरी विरुद्ध संघर्षपुर्ण जित निकाल्दै आयोजकले उपाधि उचाल्न सफल भएको हो ।

आयोजकले पेनाल्टी शुटआउटमा युनाइटेड युवा क्लबलाई हराउँदै उपाधि उचाल्न सफल भएको हो । निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टी शुटआउटबाट नतिजा निकालिएको हो ।निर्धारित समयतर्फ योङ स्टारका लागि अभिषेक लामाले गोल गरेका थिए भने युनाइटेडका लागि प्रदिप मगरले गोल गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा भने योङ स्टार ५–४ ले विजयी बन्यो ।
विजेता बनेको योङ स्टारले उपाधिसहित नगद २ लाख १० हजार १० रुपैयाँ हात पार्यो भने उपविजेता युनाइटेडले १ लाख ५ हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । योङ स्टारका अजित चौधरी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।
अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक योङ स्टारकै गोपी बर्तौला बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक योङ स्टारका अभिषेक लामाले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि आयोजक योङ स्टारकै अजित चौधरी घोषित भए ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि नेपाली फुटबल क्लब आरटीएफसी मलेसियाका अध्यक्ष राजु तामाङ्गले खेलमा हार नहुने भन्दै जित र सिकाई हुने बताउनुभयो ।
त्यस्तै वडा नम्बर १० का अध्यक्ष आशाकाजी श्रेष्ठले ल्होछार कप मधेस प्रदेशकै ब्राण्ड बनेको बताउनुभयो । उहाँले यसबाट प्रतियोगिताको निरन्तरतासँगै खेल मैदानको समेत विकास भइरहेको बताउनुभयो ।

त्यस्तै क्लबका अध्यक्ष आशिक लामाले प्रतियोगिता सफल बनाउन भूमिका खेलेको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।अध्यक्ष आशिक लामाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष सिद्धार्थ लोप्चनले स्वागत र वडा सदस्य कुमार मोक्तानले सञ्चालन गर्नुभयो । कार्यक्रममा निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मनमाया मगर, वडा सदस्यहरु, पूर्व वडा अध्यक्ष पद्मबहादुर मोक्तान लगायत विभिन्न शैक्षिक, राजनैतिक एवं समाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Leave a Reply