कलैया,बारा र पर्सा प्रहरीले छुट्टाछुट्टै मिति र स्थानबाट स्रोत नखुलेको करोडौं मूल्यको सामान बरामद गरेको छ ।
बारा प्रहरीले स्रोत नखुलेको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो भने पर्सा प्रहरीले ३ वटा ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पथलैया बाराले जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट मंगलवार राती स्रोत नखुलेको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।प्रहरीले वीरगञ्जबाट झापातर्फ जाँदै गरेको ना ३ ख १६४३ नम्बरको ट्रकमा चेक जाँच गर्दा बिल बिजक जारी भएकोभन्दा बढी सामान भेटाएको हो । प्रहरीका अनुसार ट्रकमा बिल बिजकभन्दा करिब ३६ लाख १२ हजार ४ सय ६८ रूपैयाँ बराबरको कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट र अन्य खुद्रा समान पाइएको छ । उक्त सामान र ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी करिब ४ करोड रुपैयाँ मूल्य बराबरका अबैध सामान बोकेका दुई वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्जबाट काठमाडौं जान लागेका लु १ ख ७५३२ र ना ३ ख ५४९ नम्बरका दुई वटा ट्रक बुधवार बिहान साढे ८ बजेतिर वीरगञ्ज महानगरपालिका– २५ बाट नियन्त्रणमा लिएको हो ।ट्रकहरुमा विभिन्न ब्राण्डका मदिरा र कम्प्युटरको माउसलगायतका मालबस्तु लोड गरिएको पाइएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी दीपक भारतीले बताउनुभयो । दुई वटा ट्रकमा भन्सार छलीका ३ करोड ९३ लाख ८८ हजार ६३१ रुपैयाँ बराबरका सामान रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply