वीरगञ्ज,नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिनुभएको छ । महासंघको निर्वाचन मिति पटक–पटक सरेको र पछिल्लो पटक तोकिएको मितिमा पनि निर्वाचन हुने सम्भावना नदेखिएपछि पोखरेलले राजीनामा दिनुभएको हो ।
आइतवार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पोखरेलले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने अडान राख्नुभएको थियो । तर, अन्य सदस्यहरूले भने निर्वाचनसँग सम्बन्धित विवाद समाधान भएपछि मात्र नामावली सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए । यसले गर्दा नामावली सार्वजनिक गर्न नसकिएको र पछिल्लो पटक असोज ५ का लागि तय गरिएको निर्वाचन पनि प्रभावित हुने अवस्थामा पुगेको छ ।
पत्रकार महासंघको जिल्ला, प्रदेश, र केन्द्रीय निकायको कार्यकाल चैतमै सकिएको भए पनि निर्वाचन सम्पन्न गर्न विभिन्न समस्याहरू देखापर्दै आएका छन् । यसै कारण, अध्यक्ष पोखरेलले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको बताइएको छ ।
अध्यक्ष पोखरेलले राजिनामा दिएपछि पत्रकार महासंघको आगामी गतिविधि र निर्वाचनको प्रक्रिया अब कसरी अघि बढ्ने हो भन्नेबारे थप छलफलहरू जारी रहेको छ ।

Leave a Reply