कलैया,बाराको विश्रामपुर गाउँपालिका– ३ मूसहरवा टोलस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मूसहरवामा चोरी भएको छ ।विद्यालयका प्रधानाध्यापक मोहम्मद अबुल हसनका अनुसार गत शनिवार राती विद्यालयमा कोही नरहेको मौका छोपी कम्प्युटर ल्याबमा चोरी भएको हो ।
हसनका अनुसार शनिवार राती विद्यालय परिसरमा कोही पनि नभएको मौका छोपी विद्यालयको कम्प्युटर ल्याबमा अज्ञात व्यक्तिहरूद्वारा कोठाको ढोका तोडफोड गरी कम्प्युटरहरूमा क्षति पु¥याई कम्प्युटरभित्र रहेका विभिन्न पार्टपुर्जा झिकी चोरी गरिएको छ ।
कम्प्युटर ल्याबमा रहेको वाइफाइ राउटर, सिलिङ पङ्खा, सिपियु एक÷एक थान, चार जीबीको ¥याम ६ थान, ५०० जीबीको हार्डडिक्स ५ थान, एसएमपीएस ४ थान, माउस ७ थान, किबोर्ड ८ थान, भीजीए केवल ४ थान, एस एलआइडी ६ थान चोरी भएको प्रधानाध्यापक हसनले जानकारी दिनुभयो । चोरहरूले चार थान मनिटरमा समेत क्षति पु¥याएको उहाँले बताउनुभयो ।
हसनले चोरीको विषयमा स्थानीय बलिरामपुर प्रहरी चौकीमा जानकारी गराइएको र प्रहरीले घटना सम्बन्धी अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले विद्यालय जस्तो सामाजिक सम्पतिको चोरी गर्नेहरूलाई तत्कालै पक्राउ गरेर कानुनको दायरामा ल्याउन आग्रह गर्नुभएको छ ।

















