निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ र कोल्हवी नगरपालिका वडा नम्बर २ को सीमानजिकै बकैया खोला किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।पूर्व–पच्चिम लोकमार्गमा रहेको बकैया खोलाको पुलभन्दा करिब दुई किलोमिटर दक्षिणमा खोला किनारमा महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिनुभयो । मृतकको शरीरमा कुनै दाग वा चोट नदेखिएको शव सग्लो अवस्थामा रहेको पनि उहाँले बताउनुभयो ।
प्रहरीले शव नजिकैको बस्तीबाट बगाएर ल्याएको अनुमान गरेको छ । तर, हालसम्म महिला हराएको सूचना भने प्रहरीले प्राप्त गरेको छैन । पहिचान नखुलेको करिब ३५ वर्षीय महिलाको शव स्थानीयवासीले सोमवार खोला किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शव पोस्टमार्टमका निम्ति कलैया प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।



















