वीरगञ्ज,वीरगञ्जका वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । मस्तिष्क घातका कारण वरिष्ठ पत्रकार पाण्डेको निधन भएको आफन्तजनले जानकारी दिएका छन ।उपचारको क्रममा काठामाडौंको टिचिङ अस्पतालमा बिहीवार उहाँको निधन भएको हो । १५ भदौंमा स्वास्थ्यमा समस्या आएपछि उहाँ वीरगञ्जको नारायणी अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाडौंस्थित टिचिङ भर्ना गरिएको थियो ।
धादिङ्ग जिल्लाको नौबिसे पुख्र्याैली घर भएका पाण्डे पछिल्लो समय बाराको डुमरवानास्थित घरमा बसेर सक्रिय रुपमा पत्रकारिता गर्दैआउनुभएको थियो । उहाँले उत्थान साप्ताहिक पत्रिका सञ्चालन गर्नुभएको थियो ।यसबाहेक पाण्डेले पर्सा र बारा जिल्लाबाट प्रकाशित हुने दर्जन बढी पत्रिकामा सम्पादकीय भूमिकामा रहेर काम गरेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शत्रुघन नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार पाण्डे नेपाल पत्रकार महासंघ पर्साका पूर्वसचिव पनि हुनुहुन्छ ।
पाण्डेको निधनले नेपाली पत्रकारिता क्षेत्रमा ठूलो क्षती भएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले बताउनुभएको छ ।मृतक पाण्डेको एक छोरा र एक छोरी छन् भने अर्को एक छोरा सहिद भएको परिवारजनले जानकारी दिएको छ । मृतक पाण्डेको बिहीवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जानकारी दिएको छ ।


















