सिमरा,बारा क्षेत्र नं। ४ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् पूर्व श्रममन्त्री किसान श्रेष्ठको निजी जग्गामा सरकारी बजेटबाट तटबन्धन गरेको पाइएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ११ स्थित दुधौरा खोलासंगै जोडिएको पूर्वमन्त्री श्रेष्ठको जग्गामा सरकारी बजेटबाट तटबन्धन गरिएको हो ।

एकिकृत समाजवादीका नेता समेत रहेका पूर्वमन्त्री श्रेष्ठको उक्त क्षेत्रमा १० बिगाहभन्दा बढी जमिन छ । दुधौरा खोलासंगै जोडिएको उक्त जग्गा पूर्वमन्त्री श्रेष्ठले पटकपटक गरी खरिद गर्नुभएको हो ।

विभिन्न व्यक्तिबाट खरिद गरिएको उक्त जग्गा जोगाउन सरकारी बजेट दुरुपयोग भएको स्थानीयले बताएका छन् । उक्त जग्गामा पछिल्लो दुई आर्थिक वर्षमा ६० लाखभन्दा बढी रकम तटबन्धनका लागि खर्च भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ मा दुई पटक श्रेष्ठको जग्गातर्फ तटबन्धन गरिएको छ । संघीय मन्त्रालयबाट रकम निकासा गरेर तटबन्धन निर्माण गरिएको हो । दुधौरा खोलाको पूर्वतर्फ पर्ने पूर्वमन्त्री श्रेष्ठको जग्गा तटबन्धनले जोगाईरहदा पश्चिमतर्फ स्थानीय सर्वसाधारणको जमिन भने नदी कटानमा परेको छ ।

स्थानीयका अनुसार पहिलो पटक गरिएको तटबन्धन बाढीले भत्काएपछि गत आर्थिक वर्षमा दोस्रो पटक तटबन्धन गरिएको थियो । करिब एक सय मिटर लामो उक्त तटबन्धन उपभोक्ता समितिमार्फत निर्माण भएको हो । दोस्रो पटक निर्माण भएको उक्त तटबन्धको केही भाग बाढीले क्षति पुर्याएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं। ५ र ११ लाई जोड्ने दुधौरा खोलाको पूर्वतर्फ पूर्वमन्त्री श्रेष्ठले पटकपटक गरी जग्गा खरिद गर्नुभएको थियो । उहाँले प्रतिकठ्ठा ८० हजारदेखि दुई लाखसम्मको मूल्यमा जग्गा खरिद गर्नुभएको हो । पूर्वमन्त्री श्रेष्ठको लगानीमा उक्त जमिनमा हाल पाडापालन समेत हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here