चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा शनिवार चितवनको बछौलीमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धानको उत्पादन र उत्पादकत्व बढाउन जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । साथै उहाँले किसानलाई आवश्यक मल र बीउको अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आउँदो दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखेको प्रधानमन्त्रीको भनाई छ । धानबाली नेपालको प्रमुख खाद्यान्न बाली हुनाले तीनवटै तहका सरकार गम्भीर भएर भइरहेका नीतिको सफल कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।
राष्ट्रिय धान दिवसको अवसरमा बछौलीमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोप्नुभयो । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज देशभर २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ ।
राष्ट्रपति पौडेलबाट शीतल निवासमा धान रोपाइँ
काठमाण्डौ – राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा धान रोपाइँ गर्नुभएको छ । राष्ट्रपति कार्यालयले शीतल निवासमा रोपाइँ कार्यक्रम गरेको हो ।कार्यक्रममा राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँमा सहभागी राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन आफू प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभएको छ ।‘पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ’, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।’

Leave a Reply