रौतहट ११ असार ,स्थानीय तहले असार १० भित्रै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि रौतहटका केही पालिका भने निर्धारित समयमै बजेट पारित गर्न असफल भएका छन ।
गएको आर्थिक वर्षमा पनि ५ महिना ढिलो गरी बजेट पारित गरेको रौतहटको फतुवा विजयपुर नगरपालिकाले यसपटक पनि निर्धारित समयमा बजेट ल्याउन सकेको छैन ।
कार्यवाहक मेयर अमबेय खातुन र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानबीचको विवादले सोमवारको नगरसभा रोकिएको एकजना वडा अध्यक्षले बताए । राजस्व हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि गत वर्षको असार १३ यता मेयर गोपाल राय यादव निलम्बित छन ।
त्यसैगरी देवाहीगोनाहीको नगरसभा पनि रोकिएको छ । मेयर प्रेमलाल साह र उपमेयर परनिया देवीबीच मनमुटाव बढेपछि सोमवार आयोजना गरिएको नगरसभा स्थगित भएको छ । मेयर साहले एकलौटी गर्न खोजेको उपमेयर परनियाको आरोप छ । सोमवारको सभाका लागि जेठ २७ मै नगर सभा सदस्यहरुलाई सहभागी हुने पत्राचार भएको थियो तर मेयर साहले विशेष कारणले सोमवारको नगरसभा स्थगित गर्नुपरेको बताउनुभएको छ ।
रौतहटका १६ नगर र २ गाउँपालिकामध्ये फतुवाविजयपुर, देवाहीगोनाही र बौधीमाईले सोमवारसम्म नगरसभा गर्न नसकेका हुन ।उता, गरुडा, कटहरिया नगरपालिकाले भने ५ दिनअघि नै आगामी वर्षको बजेट पारित गरिसकेका छन ।
बौधीमाई नगरपालिकाका उपमेयरसहितका जनप्रतिनिधिले नगरसभा बैठक बहिष्कार गरेपछि सोमवारको लागि बोलाइएको नगर सभा विवादमा परेको हो ।मेयर प्रदीप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमीलादेवी जयसवालको नेतृत्वम रहेका अन्य जनप्रतिनिधिहरुले नगरसभा बैठक बहिष्कार गरेको बताइएको छ ।
मेयर यादव र उपमेयर जयसवाल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको आरोप लगाउँदै उपमेयरसहित केही नगर सभा सदस्यहरुले नारा जुलुससहित नगर अधिवेशन बहिष्कार गरेका थिए ।पालिकाहरूले नगर तथा गाउँसभामार्फत आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर असार मसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।मधेस प्रदेशका आठ जिल्लाका एक महानगरसहित १ सय ३६ पालिकामध्ये २२ वटा पालिकाले बजेट सार्वजनिक गरेका छैनन ।

















