राजकुमार यादव
मौलापुर,रौतहट जिल्लाको गढीमाई नगरपालिकाको एघारौं नगर सभा सोमवार सम्पन्न भएको छ ।
नगर प्रमुख एवम नगर सभाका अध्यक्ष श्यामप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको शुभारम्भ नेपाली काँग्रेसका मधेस प्रदेशका सभापती एवं पूर्वमधेस प्रदेश सरकार का भौतिक पूर्वधार विकासमन्त्री कृष्णप्रसाद यादव र जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादवले संयुक्तरूपमा पानसमा दिप प्रज्वलित गरेर भएको थियो ।
नगर सभामा आगामी आर्थिक वर्षका लागि कुल बजेट ५९ करोड ५० लाख एक हजार रुपैयाँको बजेटसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । नगर प्रमुखले विगतका उपलब्धिहरू, चुनौतीहरू र आगामी वर्षका योजना तथा प्राथमिकताहरू बारेमा सम्बोधन गर्नुभयो । उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूलाई विशेष प्राथमिकता दिएको बताउनुभयो ।
गढीमाई नगरपालिकाले प्रस्तुत बजेटमा शिक्षाका लागि विद्यालय भवनहरूको निर्माण तथा पुनर्निर्माण, शैक्षिक सामग्रीको व्यवस्था र डिजिटल शिक्षा प्रवद्र्धनका लागि विशेष बजेट विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्रका लागि नयाँ स्वास्थ्य चौकीहरूको स्थापना, मौजुदा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति तथा निःशुल्क औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिने योजना समावेश गरिएको छ ।
पूर्वाधार विकासका लागि सडक, पुल तथा खानेपानी आयोजनामा विशेष ध्यान दिइएको छ । नगरपालिकाले दुरदराजका क्षेत्रहरूमा आवागमन सहज बनाउन नयाँ सडक निर्माण तथा पुराना सडकहरूको मर्मत सम्भार गर्ने योजना प्रस्तुत गरेको छ। साथै, खानेपानी र सरसफाइका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन विभिन्न योजनाहरूअघि सारिएको हो ।
कृषि क्षेत्रको प्रवद्र्धनका लागि सिँचाइ सुविधा, कृषि उपकरणहरू, तथा कृषकहरूलाई तालिम प्रदान गर्ने कार्यक्रमहरूमा बजेट छुट्याइएको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरूको संरक्षण र प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू प्रस्तुत गरिएको हो । समाज कल्याणका क्षेत्रमा वृद्धवृद्धा, महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको हितका लागि विभिन्न योजना समावेश गरिएको छ ।
नगर प्रमुख यादवले बजेटको सदुपयोग र पारदर्शिता सुनिश्चित गर्न नागरिक सहभागितालाई प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाका सम्पूर्ण नागरिकहरूलाई सहकार्य गर्न आह्वान गर्दै नगरको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।नगर सभाका सदस्यहरूले आ–आफ्ना विचार तथा सुझाव प्रस्तुत गरेका थिए । अधिकांश सदस्यहरूले प्रस्तुत बजेट तथा कार्यक्रमलाई सराहना गर्दै यसलाई सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका थिए । केही सदस्यहरूले भने केही क्षेत्रमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको औंल्याएका थिए ।
सभामा प्रमुख प्रशासकीय अधिकृत, नगर सभा सदस्यहरू, विभिन्न विभागका प्रमुख तथा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो ।



















