निजगढ,बारा जिल्लास्थित ९ वटा पेसागत संघसंगठनहरुले रामराजा मोहन विक्रम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषणप्रसाद कुशवाहाको हत्यारा पक्राउ गर्नुपर्ने माग राखेर बुधवारबाट आन्दोलनको घोषणा गरेका छन ।
पेसागत संघसंगठनका प्रतिनिधिहरुले मंगलवार संयुक्त विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रमहरु सर्वजनिक गरेका हुन । विज्ञप्तिमा असार ५ गते बारा जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय, क्याम्पसहरुमा कालोपट्टी बाँधेर विरोध गर्ने, असार ६ गते बिहीवार चक, डस्टर, मार्कर नचलाई अध्ययन अध्यापन गर्ने, असार ७ गते शुक्रवार दिउसो ३ बजे रामराजा मोहन विक्रम बहुमुखी क्याम्पसबाट शान्तिपुर्ण ¥याली निकाल्ने र कलैयास्थित भरत चौकमा विरोध सभा गर्ने जनाइएको छ । साथै उनीहरुले आफ्नो माग सम्बोधन नभए थप कडा आन्दोलनको चेतावनी पनि दिएका छन् ।
अज्ञात समूहको गोली प्रहारबाट शिक्षक कुशवाहाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा गत जेठ ३२ गते साँझ हत्या भएको थियो ।

क्याम्पस प्रमुख कुशवाहाको हत्याको विरोधमा एकताबद्ध जनाउदै रामराजा मोहन विक्रम बहुमुखी क्याम्पस कलैयाका कार्यवहाक प्रमुख निवेश तिमिल्सिना, नेपाल शिक्षक संघ बारा अध्यक्ष राजकिशोर सहनी, नेपाल राष्ट्रिय शिक्षक संगठन बारा जिल्ला अध्यक्ष सुरेन्द्र पासवान, एकिकृत अखिल नेपाल शिक्षक संगठन बाराका अध्यक्ष रोशन यादव, नेपाल शिक्षक मञ्च जिल्ला अध्यक्ष नन्दकिशोर दुवे, संघीय शिक्षक फोरमका प्रतिनिधि लालबाबु प्रसाद जैस्वाल, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिव किनु गुप्ता, एन प्याब्शन बारा अध्यक्ष प्रभुलाल कुशवाहा, र प्याब्शन बाराका प्रतिनिधि मनोजप्रसाद यादवले हस्ताक्षर गरेर संयुक्त विज्ञप्ति निकालेका हुन ।

विज्ञप्तिमा घटनामा संग्लन दोषिलाई यथाशिघ्र पक्राउ गरी कडाभन्दा कडा कारबाही गरिनुपर्ने, मृतक शिक्षक कुशवाहालाई शहीद घोषणा गरिनुपर्ने, मृतक शिक्षकको परिवारलाई आवश्यक क्षतिपुर्तिको व्यवस्था र शैक्षिक जगत तथा बारा जिल्लाको आमनागरिकको शान्ति सुरक्षाको सुनिश्चितताको माग पनि गरिएको छ ।विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विगत केही महिनादेखि शिक्षकहरुमाथि निर्ममता पूर्वक हत्या गर्ने श्रृंखला बढेको छ । यसरी बारा जिल्लामा कुनै न कुनै किसिमवाट शिक्षकको हत्या हुनुले शिक्षकलाई सहज वातावरणमा शिक्षण गर्न गम्भीर चुनौति समेत देखापरेको छ । तसर्थ, यस्ता अपराधिक घटना घटिरहेको अवस्थामा सम्पूर्ण शैक्षिक जगतमा अहम भूमिका निर्वाह गर्ने शैक्षिक व्यक्तित्वहरु गुणस्तरीय शिक्षा प्रदान गर्ने अवस्थामा नरहेकाले शान्ति सुरक्षाको अनुभूति गराई दोषिलाई यथाशीघ्र कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको माग गर्दै आन्दोलन गर्न बाध्य भएका छौं । यस आन्दोलनले पर्नजाने सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकार हुनेछ ।’

Leave a Reply