बारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश समितिले फोनिज जिल्ला कार्य समिति महोत्तरीका अध्यक्ष तथा टक नेपाल टिभी अनलाइनका सम्पादक ललन कुमार मण्डलमाथि भएको ज्यानमार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
फोनिज मधेस प्रदेश समितिका अध्यक्ष दुष्यन्त चौधरीले विज्ञप्ति जारी गर्दै बर्दिवास नगरपालिका–१४ निवासी ‘न्यू बर्दिवास कम्प्युटर सप्लायर्स एण्ड इलेक्ट्रोनिक्स’का सञ्चालक कौशल महतोद्वारा दिइएको धम्की, दुर्व्यवहार र त्रास सिर्जना गर्ने गतिविधिको घोर भर्त्सना गरेको छ । महतोले अज्ञात नम्बरबाट फोन गरी ‘जहाँ भए पनि मार्छु’ जस्ता धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गर्नुका साथै समूहसहित पत्रकार मण्डलको कार्यस्थलमै पुगेर डरत्रास फैलाएको आरोप छ ।
फोनिज मधेस प्रदेशका अनुसार यो घटना केवल एक पत्रकारमाथिको आक्रमण नभई सम्पूर्ण पत्रकारिता क्षेत्रमाथिको हस्तक्षेप हो । सार्वजनिक सरोकारका विषयमा समाचार सम्प्रेषण गर्नु पत्रकारको संवैधानिक अधिकार र पेशागत दायित्व भएको उल्लेख गर्दै समाचारकै आधारमा धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघात भएको बताइएको छ ।
समितिले पत्रकारलाई धम्काउने, समाचार हटाउन दबाब दिने र पेशागत कर्तव्यमा अवरोध पुर्याउने कार्य लोकतान्त्रिक मूल्यविपरीत रहेको ठहर गर्दै महतोलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।
साथै, पत्रकार मण्डलले न्याय नपाए फोनिज मधेस प्रदेश समितिसहित सम्बन्धित संघ–संस्थाहरू सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

















