वीरगन्ज,वीरगन्ज महानगरपालिकाको माइस्थान चोक हिजो साँझ मेयर राजेशमान सिंह र कांग्रेस कार्यकर्ताहरूबिच हात हालाहाल भएको छ । मेयर सिंहविरुद्ध दर्ता किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गर्दै कांग्रेस कार्यकर्ताहरूले निकालेको जुलुसमा हात हालाहाल भएको हो ।

पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलका अनुसार कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिको महम्मद शहाबुद्दिनको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो । त्यो जुलुस माइस्थानमा चोकमा पुगेर कार्यक्रम गरिरहेका बेला मेयर समर्थकहरूले नाराबाजी गर्दै कार्यक्रम बिथोल्न थालेपछि हात हालाहाल भएको उहाँको भनाइ छ । विवाद उग्र बन्दै गएपछि प्रहरीले लाठी चार्ज गरेर दुवै समूहलाई लखेटेको एसपी ढुंगेलले जानकारी दिनुभयो ।

तीन महिना अगाडि फर्जी नागरिकता बनाएको भन्दै पर्सा प्रहरीले मेयर सिंहविरुद्ध दर्ता गरेको किर्ते मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि नबढाइएको भन्दै मसाल जुलुस निकालिएको थियो । मसाल जुलुस नगर परिक्रमा गरेर माइस्थान चोकमा कोण सभामार्फत परिणत भएको थियो । सोही बेला मेयर सिंहका समर्थकहरूले कार्यक्रम बिथोल्न नाराबाजी गर्न थालेको कांग्रेसका युवा नेता रञ्जन सिंहले बताउनुभयो । उहाँका अनुसार मेयर समर्थकहरूले कांग्रेस कार्यकर्ताहरूसँग जबरजस्ती विवाद गर्न खोजेपछि दुवैतिरबाट मुठभेडको अवस्था सृजना भएको थियो । मेयर सिंहका समर्थकहरूले चोकमा राजेशमान जिन्दाबाद…जस्ता नारा लगाउन थालेपछि विवाद उग्र बन्दै गएको थियो ।

सोही क्रममा मसाल जुलुस निकाल्ने समूह र मेयरका समर्थकहरूबिच हातपात समेत भएको उहाँले बताउनुभयो । फागुन २४ गते पर्सा प्रहरीमा वीरगन्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध किर्ते मुद्दा दर्ता भएको थियो । फर्जी विवरणका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा दर्ता गर्न पत्र आएपछि प्रहरीले किर्ते मुद्दामा अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार उनको नाममा ८३७ नम्बरमा मुद्दा दर्ता छ । रुविना श्रेष्ठ नामको नागरिकतामा बुवाको नाम राजेशमान सिंह राखेर बनाइएको छ, जसमा आमाको नाम लेखिएको छैन ।

Leave a Reply