निजगढ,निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र अवैध रुपमा संचालनमा रहेको अलकत्रा बनाउने प्लान्ट हटाउन वन समूहले पत्राचार गरेको छ ।समूहका अध्यक्ष रामप्रसाद पाण्डेको अगुवाइमा समूहका पदाधिकारी, जनप्रतिनिधि, वन कर्मचारीसहित कारखाना संचालन स्थलमा पुगेको टोलीले एक साताभित्र प्लान्ट हटाउन लिखित रुपमा जानकारी गराएका छन । समूहको तर्फबाट बुझाइएको पत्रमा भनिएको छ ‘७ दिनभित्र हटाइएन भने ८ औं दिनमा उपभोक्ताहरुले प्लान्टसम्म पुग्ने सडक अवरुद्ध पर्ने र उद्योग संचालनमा रोक लगाइने छ ।’ पत्र बुझाउने क्रममा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, वडा सदस्य बबिता श्रेष्ठ, डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेलसहितको टोली कारखाना स्थलमा पुगेको थियो ।

जय अम्बे इन्टरप्राइजेजको नाममा निजगढको भमरा खोलापारि जंगलको चिल्डेन पार्कमा संचालन हुदैआएको प्लान्टका संचालनसंग भेट नभएपछि टोलीले त्यहा रहेका कर्मचारीलाई पत्र बुझाएर फर्किको वन समूहका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।विगत ६ महिनादेखि अवैध रुपमा संचालनमा रहेको सो प्लान्ट हटाउने बारेमा सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरुले नै पहल शुरु गरेको समुहका अध्यक्ष पाण्डेले बताउनुभएको छ । आफूहरुलाई कुनै जानकारी नै नदिइ संचालनमा ल्याइएको सो प्लान्ट हटाउनेतर्फ वन कार्यालय र निजगढ नगरपालिका कार्यालयले पनि चासो नदेखाएको उपभोक्ताहरुको गुनासो छ ।

प्लान्ट हटाउने बारेमा वन समूहले पछिल्लो पटक गत चैत्र ११ गते वन कार्यालय र स्थानीय तहको कार्यालयहरुमा पत्र पठाएर वन ऐन, सामुदायिक वन नियमावली अनुसार कारबाहीको लागि पत्राचार गरेको थियो । तर कसैले पनि चासो नदेखाएपछि उद्योग हटाउने कार्यमा वन समूहका पदाधिकारी र उपभोक्ताहरु आफै सक्रिय बनेका हुन ।

Leave a Reply