कलैया,आर्थिक मन्दीलगायत विविध कारणले बारा जिल्लामा सञ्चालनमा रहेका दुई सयभन्दा बढी घरेलु तथा साना उद्योग र पसल व्यवसाय बन्द भएका छन ।घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ९८ वटा घरेलु तथा साना उद्योगको लगतकट्टा भएको छ भने वाणिज्यतर्फ १६१ गरी २५९ वटा उद्योग खारेज भएका छन । बन्द र खारेजको मुख्य कारण भने बैङ्क ब्याज र लगातारको आर्थिक मन्दी नै रहेको व्यवसायीहरुले बताएका छन ।घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख धर्मेन्द्रलाल कर्णका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फर्म बढी छन । बन्द हुने उद्योगमध्ये कृषि तथा वनजन्य उद्योग बढी छन । आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या यो भए पनि धेरै उद्योग तथा व्यवसाय बन्द भएर कार्यालयबाट सम्पर्कविहीन भएको अवस्था छ । उद्योग र व्यवसाय बन्द भए पनि आधिकारिक रूपमा बन्द नगराइएको व्यवसायी बताउँछन ।केही वर्षअघि विश्व महामारीका रूपमा रहेका कोभिड–१९ को प्रभाव, त्यसपछि बैङ्कले वृद्धि गरेको ब्याज र लगातारको आर्थिक मन्दीका कारण उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन ।उद्योग तथा वाणिज्य फर्महरू बन्द भएपछि अहिले पनि बजारमा व्यावसायिक सटर खाली छन् भने उद्योगी तथा व्यवसायी विस्थापित भएका छन । आव २०७९÷८० को एक वर्षको अवधिमा ८९९ वटा घरेलु तथा साना उद्योग दर्ता भएको र ८०६ वटा उद्योग नवीकरण गरी जम्मा एक हजार ७०५ वटा रहेका छन ।यसै गरी ८६६ वटा वाणिज्य (पसल) दर्ता भएको र एक हजार ५८ नवीकरण गरी एक हजार ९२४ वटा (पसल) सञ्चालनमा रहेका छन् । घरेलु तथा वाणिज्यमा चालु तथा स्थिर पुँजी गरी ५७ करोड ७५ लाख सात हजार रुपियाँ लगानी भएको छ ।त्यसमध्ये ३० करोड २५ लाख ९७ हजार चालु पुँजी र २७ करोड ४९ लाख १० हजार स्थिर पुँजी रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।त्यसबाट यस वर्ष एक करोड ३४ लाख ३५ हजार ७३० रुपियाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी तथा नायब सुब्बा अमोदकुमार यादवले बताउनुभयो । दर्ता भएका उद्योगमा ९११ जना उद्यमी थपिएका छन् । त्यसमध्ये ३९० महिला र ५२१ पुरुष रहेका छन् । आव २०७८÷७९ मा ८१० महिला र ९५६ पुरुष उद्यमीको सङ्ख्या रहेको थियो ।उत्पादनमूलक उद्योग १३८, कृषि तथा वनजन्य ९९८, पर्यटन चार, सेवामूलक २८२ र लघु चार गरी ८९९ वटा उद्योग रहेका छन् । त्यसमा आजको दिनसम्म एक हजार ६६२ महिला र दुई हजार ७८४ पुरुष गरी चार हजार ४४६ जनाले रोजगार प्राप्त गरेका छन् । आव २०७८÷७९ मा तीन हजार १६८ महिला र सात हजार ९४६ पुरुष गरी ११ हजार ११४ जनाले रोजगार प्राप्त गरेका थिए ।

Leave a Reply