वीरगञ्ज,कक्षा १२ को परीक्षामा सहभागी भएका एनआई कलेजका विद्यार्थीले नियोजित रुपमा हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।चिट चोर्न नपाएको विषयलाई विद्यार्थीहरुको मानसिक यातनासँग जोडेर एनआई कलेजका संचालकले विद्यार्थी प्रयोग गरेर नियोजित रुपमा क्याम्पसमाथि आक्रमण र तोडफोड गर्न लगाइएको हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले बताउनुभएको छ ।

हरिखेतान बहुमुखी क्याम्पसले सोमवार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआई कलेजका संचालकले लगाएको आरोप कपोकल्पीत र निराधार भएको जनाएको हो । निमित्त क्याम्पस प्रमुख यादवले सिसि क्यामराको निगरानीमा परिक्षा दिन एनआईका विद्यार्थीलाई चुनौती दिनुभएको छ ।
आइतवार हरिखेतान क्याम्पसमा कक्षा १२ को परीक्षा दिएर बाहिर निस्किएका विद्यार्थीलाई एनआई कलेजका संचालक र शिक्षकहरुले विद्यार्थीलाई उत्तेजित बनाउदै क्याम्पसका कक्षा कोठामा रहेका फर्निचर र बाहिर पार्किङमा राखिएका सवारी साधन तोडफोड गर्न लगाएको आरोप छ ।

हरिखेतान क्याम्पसमा भएको घटनालाई स्थानीय प्रशासनले गम्भिर रुपमा लिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताउनुभयो । परीक्षामा सहभागी भएका विद्यार्थी तोडफोडमा उत्रनु राम्रो विषय नभएको भन्दै उहाँले यस विषयलाई स्थानीय प्रशासनले गम्भीर रुपमा लिएको बताउनुभयो ।स्थानीय प्रशासनले घटनाको बारेमा छानबिन गरिरहेको र घटनामा संलग्न दोषीहरुको पहिचान गरी कानून अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भुषालले बताउनुभएको छ । दोषीलाई काराबाही र तोडफोड भएको सम्पत्ति क्षतीपूर्ती दोषिहरुसंग भराइने भुषालको भनाई छ ।

यता हरिखेतान बहुमुखी क्याम्पसले आफूहरुको निजी कलेजसँग प्रतिस्पर्धा नरहेको भन्दै निजी कलेजभन्दा न्यून शुल्कमा विद्यार्थीलाई पढाउने गरेको निमित्त क्याम्पस प्रमुख यादवले बताउनुभयो ।हरिखेतान क्याम्पसमा एनआई कलेजका विद्यार्थीको परीक्षा सेन्टर परेको र परीक्षा नियन्त्रण कार्यालयबाट आएका परीक्षा नियन्त्रकहरुको निगरानीमा परीक्षा भइरहेको निमित्त क्याम्पस प्रमुख यादवले बताउनुभयो । तोडफोडको घटनामा संलग्नलाई कारबाही र क्षतीपूर्तीको लागि कानुनी उपचार खोजिने पनि यादवले जानकारी दिनुभयो ।

यसैबीच एनआई कलेजका विद्यार्थीहरुको परीक्षा सेन्टरमा दुईवटा सामुदायिक विद्यालयमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनुभयो । हरिखेतान क्याम्पस तोडफोडको घटनापछि रानीघाटमा रहेको रेल्वे मावि र आर्दशनगरमा रहेको पन्नालाल माध्यामिक विद्यालयमा परीक्षा केन्द्र राखिएको प्रजिअ भुषालले जानकारी दिनुभयो ।कक्षा १२ को परीक्षामा अझै ३ वटा विषय बाँकी रहेकोले परीक्षा सकिएलगत्तै स्थानीय प्रशासनले घटनामा संलग्नमाथि कारबाही शुरु गर्ने तयारी गरेको बताइएको छ ।

Leave a Reply