वीरगञ्ज,वीरगञ्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।वीरगञ्जबाट रक्सौलतर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको भारतीय नम्वरको मोटरसाइकलमा सवार भारत रक्सौल स्थायी घरभएका एक भारतीय नागरिकको साथबाट ३ लाख ३६ हजार नेपाली रुपियाँ फेला परेको सशस्त्र प्रहरी बल १३ र्न. गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्रबहादुर सिहंले बताउनुभयो ।

सशस्त्र प्रहरी नायव उपरिक्षक सिंहका अनुसार पक्राउ परेका भारतीय नागरिक, उनको साथमा फेला परेको ३ लाख ३६ हजार नगद र उनले प्रयोग गरेको अन्दाजी २ लाख मूल्यको भारतीय नम्वरको मोटरसाइकल थप अनुसन्धानको लागि वीरगञ्ज भन्सार बुझाइएको छ ।नेपालको प्रचलित कानूनले स्रोत नखुलेको रकम बोकेर सिमावर्ती क्षेत्रमा ओसार पोसार गर्न नपाउने व्यवस्था गरेको छ । भारत रक्सौल निवासी अफ्रोज अहमदलाई स्रोत नखुलेको रकम सहित सोमवार सशस्त्र प्रहरीको टोलीले भंसार कार्यालयमा बुझाएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।भन्सारको नियन्त्रणमा रहेका अहमदले उक्त रकम व्यापारिक प्रयोजनको लागि लिएर रक्सौलतर्फ जादै गरेको अवस्थामा आफू पक्राउ परेको भन्सार अधिकारीलाई बताएका छन ।



















