जनकपुरधाम,मधेस प्रदेशमा आगलागीका घटना वृद्धि भएका छन । प्रदेशको पर्सा, महोत्तरी, रौतहट र सर्लाहीमा बुधवार भएको आगलागीमा परेर सयभन्दा बढीं घर जलेका छन ।पछिल्लो पटक बुधवार दिउसो पर्साको धोबिनी गाउँपालिकामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित हरिहरपुर गाउँमा बुधवार भएको आगलागीमा पाँच घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लङ्गडीका प्रहरी नायव निरीक्षक (सई) तोजेन्द्र बिसीका अनुसार स्थानीय योगेन्द्र साहको घरबाट सुरु भएको आगलागी बढ्दै जाँदा अन्य पाँच जनाको घर र नजिकै रहेको ब्रह्म बाबाको रुख पनि जलेको छ ।
आगलागीबाट योगेन्द्र साहसहित भरत साह कानु, हरिन्द्र साह कानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घर जलेर नष्ट सई बिसीले बताउनुभयो । घरसँगै त्यहाँ रहेको फर्निचर, अनाज, कपडा लत्ता, गरगहना समेत जल्दा २० लाख रुपैयाँ बराबरको क्षति भएको बिसीले जानकारी दिनुभयो ।

आगो लाग्ने कारण भने अहिलेसम्म खुल्न नसकेको उहाँले बताउनुभयो । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पोखरिया नगरपालिकाबाट गएको वरुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । धोबिनी गाउँपालिकासँग आफ्नो वारुण यन्त्र नहुँदा पोखरियाबाट मगाउनु परेको बिसीले बताउनुभयो ।महोत्तरीमा एक सय घर जले
महोत्तरी,
महोत्तरीको मटिहानीमा बुधवार भीषण आगलागी भएको छ । मटिहानी नगरपालिका– ६ जर्लाहावागाछी गाउँमा भएको भीषण आगलागीमा सय भन्दा बढी फुसका घर जलेका छन् ।आगलागीबाट करिब सय भन्दा बढी घर जलेको र आगो निभाउने प्रयास भइरहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले बताउनुभयो ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानले पनि त्यहाँ सयभन्दा बढी घरमा आगलागी भएको पुष्टि गर्नुभयो । उहाँका अनुसार ९ वटा दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाएका थिए ।
‘चौतर्फ हावा चलेका कारण आगलागी नियन्त्रमा आउन समस्या भएको थियो,। आगो निभाउने प्रयास जारी छ,’ उनले भने । आगलागीको कारण भने खुल्न सकेको छैन ।

रौतहटमा ७ वटा घर जलेर नष्ट
रौतहट,रौतहटको देवाही गोनाही वडा नम्बर १ करुनियामा आगलागीबाट ७ वटा घर जलेर नष्ट भएका छन् । मंगलवार अपराह्न भएको आगलागीबाट ७ घर जल्दा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी, ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएका हुन् ।आगलागीबाट अन्न, लत्ताकपडा, भाडा, नगदसहित घरहरू जलेर पूर्ण रूपमा नष्ट हुँदा कुल १६ लाख ९० हजार बराबरको क्षति भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताउनुभयो ।प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहे घरमा आगलागी, दुईजना घाइते
सर्लाही,सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा ६ लाख रुपैयाँको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।बलरा नगरपालिका वडा नम्बर ६ मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा मंगलवार राति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो ।अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैबीच मंगलवार राति जिल्लाको कविलासी नगरपालिका वडा नम्बर २ पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यु नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, हृदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यु जलेको हो ।दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियो ।

Leave a Reply