विश्वव्यापी मान्यता के हो भने, जातका आधारमा कसैलाई पनि कुनै प्रकारको अमानवीय व्यवहार गर्न छुट छैन । अब विश्वमा महिला र पुरुष मात्रै जात छन् तर केही स्थानमा तेश्रो लिंगीहरुको अधिकारको कुरा पनि आएको छ । त्यो जायज होला तर जात बिशेष भन्ने छदै छैन । जात कथित भगवानको पालामा वर्गीकरण गरिएको कुरा पनि होइन । कुनै समयमा कुनै महासामन्तले आफ्नो अभिष्ट पूरा गर्नका लागि जातको वर्गीकरण गरेको ऐतिहासिक तथ्यबाट देखिन्छ ।
झट्ट हेर्दा हिन्दु धर्ममा यो कुरा उल्लेख भएपनि मुलतः अन्य धर्ममा पनि यो नियम लागू हुन्छ । हामीभन्दा धेरै बिकसित र शिक्षित मुलुकहरुमा समेत जायीय आधारमा नरसंहार हुने गरेको घटनाहरु बेलाबेलामा बाहिर आउने गर्दछन् । सरकार वा शासकहरुको तर्फबाट नै जातीय हिंसा फैmलाउने गरेको उदाहरणहरु पनि समाजमा छ । नेपाली समाजमा त जातीय भेदभाव नराम्ररी जरा गाडेर बसेको एक कुसंस्कार हो । जसलाई फाल्नका लागि कयौं प्रयास जारी छन् । तर अझै पनि संभव भएको छैन ।
छुवाछुतका सवालमा नेपालमा कानुन स्पष्ट छ । कानुनले सबै खालको छुवाछुतलाई बन्देज गरेको छ । जातका आधारमा हुने भेदभावको कल्पना मात्रै होइन कानुन त अपराध भनेको छ र सजायँको समेत व्यवस्था गरिएको छ तर पनि यो हट्न सकेको छैन । यसका पनि धेरै तरिकाले समीक्षा गर्न आवश्यक छ । हुनत जात एकदिन त पक्कै मेटिने छ तर तत्कालका लागि भने यो समाजको लागि घाँडो नै भएर रहेको छ । आजको सभ्य समाजमा पनि जातका कुरा गर्नेहरु वास्तवमा अक्षम्य अपराधका भारीदार हुन् ।