निजगढ,निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको नदीजन्य पदार्थ ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासीको ठेक्का हिमानी सप्लायर्सले पाएको छ ।नगरपालिकाले बुधवार सार्वजनिक गरेको बोलपत्रको नतिजाअनुसार हिमानी सप्लायर्स निजगढले सबैभन्दा बढी ८ करोड २८ लाख २९ हजार रुपैयाँको कबोल गरेर ठेक्का प्राप्त गरेको हो । चालु आर्थिक वर्षको लागि बकैया, भक्तलाल र शक्ति खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि न्युनतम ६ करोड ३३ लाख ३९ हजार ७ सय ३६ रुपैया ३२ पैसामा सकार गर्ने गरी आह्वान गरिएको विद्युतीय बोलपत्र हिमानी र जय गणेश सप्लायर्सले मात्रै भरेका थिए । जय गणेशले ६ करोड ८३ लाख ७० हजार ६ सय ५१ रुपैया १३ पैसामात्रै कबोल गरेको बताइएको छ ।

हिमानीले निजगढ नगरपालिकाको नदीजन्य पदार्थको ठेक्का हात परेको यो तेश्रो पटक हो । यसअघि दुई पटक हिमानीले सो ठेक्का पाएको थियो ।उता, ३ करोड ४ लाख ६५ हजार ९ सय ३ रुपैयामा आह्वान गरिएको धन्सार र बगर खोलाको नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि भने कुनै कम्पनीको पनि बोलपत्र नपरेको नगरपालिका कार्यालयले जनाएको छ ।

Leave a Reply