राजन कुमार बनिया
पोखरिया,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र सोलखपुर क्रिकेट क्लबको आयोजनामा टि २० क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष जसवन्त यादवले ब्याटिङ गरेर गर्नुभएको थियो । प्रमुख अतिथि रहनुभएका अध्यक्ष यादवले खेलकुदमा मात्र नभएर देश चलाउन पनि युवाको आवश्यकता रहेको बताउनुभयो ।
युवाहरुलाई खेलकुदको साथै रोजगारीको पनि जरुरी रहेको यादवको भनाई थियो । प्रदेश सरकारले खेलाडीहरु उत्पादन गर्न नसकेको र खेलाडीमाथि भेदभाव गरि खेलाडीहरुको उर्जा र मनोबल समाप्त गर्न लागेको उहाँको आरोप छ ।
प्रदेश सरकारले राम्रो काम गर्न नसकेकाले प्रदेश नेतृत्वमा युवाहरु चाहिने उहाँको भनाई छ । अगामी दिनमा सखुवाप्रसौनी गाउँपालिकाले युवाहरुलाई खेलकुद, कुस्ती लगायत खेलहरुमा प्रशिक्षण दिएर युवाहरूलाई अघि बढाउने प्रतिबद्धता पनि उहाँले जाहेर गर्नुभयो । खेलकुदको माध्यमबाट शारीरिक र मानसिक विकासका साथै गाउँपालिकाको नाम देश विदेशमा कहलिने उहाँले विश्वास व्यक्त गर्नुभयो । सखुवाप्रसौनी गाउँपालिकाका युवाहरुलाई खेलकुदमा प्रोत्साहन र रोजगारी दिन आफु तयार रहेको अध्यक्ष यादवले बताउनुभयो ।
वडा नम्बर ४ सोलखपुरमा भएको टि २० क्रिकेट प्रतियोगिताको उद्धाटन खेलमा एकडेरवा क्रिकेट टिम विजयी भएकोे छ ।
डकैलाबहुवरीले दिएको ४६ रनको लक्ष्य एकडेरवा क्रिकेट टिमले ८ विकेटको क्षतिमा पुरा गरेको छ । खेलको म्यान अफ म्याच बिकेश ठाकुर भएका छन । जैनोदिन अन्सारीको अध्यक्षतामा भएको प्रतियोगिता उद्धाटन कार्यक्रममा वडा अध्यक्ष महम्द आरिफ, चन्दन सहनी, शिव ओझैया, खलिल मियाँ, मुसा भाइलगायतको सहभागिता थियो । मंगलवारको खेल सोलखपुर र औराहाबीच हुने चन्दन सहनीले जानकारी दिनुभयो ।



















