जनकपुरधाम,मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा भाँडभैलो मच्चिएको छ ।प्रदेशको नामाकरण र प्रदेश राजधानी घोषणा भएको सम्झना स्वरुप सरकारले बुधवार ‘मधेस स्वाभिमान दिवस’ मनाउने घोषणा गरेको थियो । तर, दिवस मनाउने विषयमा समेत सत्ता साझेदार दल र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच कुरा नमिल्दा छुट्टाछुट्टै कार्यक्रम गरी स्वाभिमान दिवस मनाइएको छ ।स्वाभिमान दिवस मनाउने निर्णय सबै दलको भए पनि मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई सरकारद्वारा आयोजित कार्यक्रमको प्रमुख अतिथि बनाएपछि अन्य पार्टीहरूले आपत्ति जनाउँदै छुट्टै कार्यक्रम गरेका हुन् ।मुख्यमन्त्री यादवको अध्यक्षतामा प्रमुख अतिति उपेन्द्र यादवको सहभागितामा, नेपाली कांग्रेस र जसपाले जनकपुरकै महेन्द्र नारायण निधि अडिटोरियममा स्वाभिमान दिवस मनाइराख्दा सत्ता साझेदार अर्को दल नेकपा माओवादीका संसदीय दलका नेता भरत साहको अध्यक्षतामा प्रदेश सभाको सभाकक्षमा अर्को कार्यक्रम भएको थियो । सो कार्यक्रममा नेकपा एमाले, जनमत पार्टी, लोसपा पार्टी, नागरिक उन्मुक्ति र रासपाका सांसदहरुले सहभागी बनेका थिए ।महेन्द्र नारायण निधि अडिटोरियममा भएको कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउनुभएको छ ।प्रदेशहरू अधिकार सम्पन्न नभएसम्म सङ्घीयताको कुनै अर्थ नहुने उहाँले टिप्पणी गर्नुभयो ।प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन सबै दल लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले मधेश प्रदेशलाई विगतमा टुक्रा–टुक्रा पार्न खोजेपछि मधेश आन्दोलन भएको बताउनुभयो । “मधेश आन्दोलनको मक्सद स्वेत मधेश प्रदेश स्थापना गर्नु थियो, तर अझै पनि मधेशका भूभागलाई अन्य प्रदेशमा गाभिएको छ । आठ जिल्ला बाहेकका मधेशका भूभागको मुक्ति आवश्यक छ” उहाँले भन्नुभयो ।मधेशको जनसङ्ख्या अत्यधिक रहे पनि राज्यको लगानी भने अहिले पनि कम भएको उहाँले चर्चा गर्नुभयो । जनसङ्ख्याको आधारमा लगानी हुनुपर्ने धारणा राख्दै उहाँले मधेश आन्दोलनको समयमा पनि स्वायत्त मधेश प्रदेशसहितका अन्य प्रदेश हुने विषयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता भएको उहाँले बताउनुभयो । सो विषय विषय अन्तरिम संविधानमा समेत उल्लेख रहेको उहाँको भनाइ छ ।संविधान जारी भएको आठ वर्ष हुँदा पनि प्रदेशले अधिकार नपाउनु आफैमा दुःखद रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार आफ्नो भए पनि राज्य आफ्नो छैन । विना प्रहरी, विना कर्मचारी प्रदेशले जनताका लागि के गर्न सक्छ ?”सङ्घीयताको मतलब प्रदेशमा स्वायत्तता, स्वशासन र सङ्घमा साझेदारी हुनु रहेको बताउँदै अध्यक्ष यादवले मधेश प्रदेश मात्र पहिचानको आधारमा स्थापित भएको बताउनुभयो । उहाँले नेपालमा पहिचानलाई समाप्त पार्ने षडयन्त्र भइरहेको समयमा पहिचानको आधारमा मधेश प्रदेशको स्थापना गरेर यहाँका प्रदेशसभा सदस्यहरूले देखाएको उदारताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समिमको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जयकुमार यादवसहितकाले मधेश प्रदेश स्थापना पहिचानको आधारमा भएको भन्दै सङ्घीयतालाई सफल बनाउन मधेश प्रदेशको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

Leave a Reply