काठमाण्डौं,सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले बाराको टाँगियावस्तिमा प्रस्तावित निजगढ दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल सरकारले जुनसुकै अवस्थामा पनि निमार्ण गरेरै छाडने बताउनुभएको छ ।

सर्वोच्च अदालतको विमानस्थल निर्माण नगर्ने फैसलापछि आन्दोलन गर्दै आएको निजगढ सार्वजनिक सरोकार समिति र युवा विद्यार्थी सरोकार समितिको टोलीले दिएको ज्ञापन पत्र बुझ्दै मन्त्री आलेले बिहीवार सो कुरा बताउनुभएको हो ।

मन्त्री आलेले अर्थ मन्त्रालयले आवश्यक बजेट नदिएको गुनासो गर्दै बजेटको व्यवस्थापन गरी कानुनी जटिलतालाई समेत मिलाएर विमानस्थललाई निमार्ण प्रक्रियामा लैजाने बताउनुभयो ।

मन्त्री आलेलाई सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले बुझाएको पत्रमा २०५१ सालमा प्रारम्भिक सर्वेक्षण भई २०५६ सालमा निर्णय भएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको डिपीआर, जग्गा प्राप्ति तथा वातावरणीय प्रभाव मूल्यांकन कार्य पुरा गरेर मुआब्जा वितरण प्रकिृया समेत अन्तिम चरणमा पुगिसकेको राष्ट्रिय गौरवको परियोजना हो भनिएको छ ।

आयोजना निर्माणस्थलको रुपमा रहेको टाँगियाबस्तिको व्यवस्थापन गर्न जग्गा छनौट गरेर कानुनी र विधिगत रुपमा बस्ति स्थानान्तरणको लागि काम सुरु गर्ने चरणमा पुगिसकेको र जग्गा प्राप्ति, आयोजना क्षेत्रको घेराबारा अनि नदी नियन्त्रणको काम समेत सम्पन्न भैसकेको अवस्थामा अनायास सम्मानित सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाएको खबरले हामी विकासप्रेमी नेपाली जनतालाई आश्चार्यचकित र दुःखी तुल्याएको उल्लेख गरिएको छ ।

देशमा पर्यटन, यातायात, र कार्गो सेवा समेतको कारोवार गर्ने गरी पूर्णक्षमताको अन्तर्राष्ट्रिय विमानस्थलको अत्यन्तै आवश्यकता रहेको भन्दै यही आवश्यकतालाई दृष्टिगत गरी सरकारले काठमाण्डौं–तराईमधेस (फास्टट्रयाक), विशेष आर्थिक क्षेत्र (सिमरा) र ड्राईपोर्ट (वीरगन्ज) संग अन्तर्सम्वन्धित हुने गरी बारा जिल्लामा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्ने परियोजना अघि बढाएको ज्ञापन पत्रमा बताइएको छ ।

देशभरिका सम्भाव्य १२ स्थानहरु सर्वेक्षण गरेर प्राविधिक दृष्टिले उपयुक्त ठहरिएपछि मात्र निजगढमा परियोजनास्थल छनौंट भएको पनि उल्लेख गरिएको छ । कुनै दवाव र प्रभावमा नभइ यहाँको भूगोल र देशको राजधानी काठमाडौंसंगको निकटता र आवश्यकताले निजगढमा संचालन गर्न लागिएको योजना भएकोले निजगढ सबैभन्दा उपयुक्त र निर्विकल्प स्थान मानिएको हो भन्दै आर्थिक–सामाजिक दृष्टिले पनि काठमाण्डौंबाट टाढा पर्ने अर्को स्थानमा विमानस्थल निर्माण गर्नुको उपयुक्त हुदैन ज्ञापन पत्रमा उल्लेख छ ।

टोलीमा सरोकार समितिका संयोजक श्रेष्ठ, उपसंयोजक पदमबहादुर भण्डारी, युवा विद्यार्थी स्वतन्त्र सरोकार समिति संयोजक जयराम कुवर, कोल्हबी सार्वाजनिक सरोकार समिति संयोजक ढुण्डिराज उप्रेती, पुर्वमन्त्री तथा एमालेका नेता पुरुषोत्तम पौडेल, एमाले नेता अच्युत मैनाली, नेपाली काँग्रेस बाराका जिल्ला सदस्य कृष्णप्रसाद खरेल, राप्रपाका निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नेकपा एसका निजगढ नगर अध्यक्ष भिमसेनप्रसाद सापकोटा, लोसपाका निजगढ नगर अध्यक्ष मोजहर मन्सुर, निजगढ नगरपालिकाको निवर्तमान उपप्रमुख लिला देवी लामिछाने खनाल, यमबहादुर खड्का, अम्बिका चौलागाई, निर्मल बजगाई, घनश्याम तिमल्सिना, गोपाल लम्साल, पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष गुरुप्रसाद गौतम, पत्रकार महासंघ बारा कार्यसमिति सदस्य ईन्दिप कोईराला, प्रल्हाद तिमल्सिना, गेसकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको छ ।

टोलीले पर्यटनमन्त्रीसंगै अर्थ मन्त्री जनार्थन शर्मालाई समेत ज्ञापन पत्र पेस गरेको छ । अर्थमन्त्री शर्माले आगामी चुनाबभन्दा अगाडिनै सरकारले नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको शिलान्यास गर्ने दाबी गर्नुभयो । पर्यटन मन्त्रालयले चाहेमा तत्काल टेन्डर आव्हान गर्न सक्ने र रकमको कमी भएमा अर्थ मन्त्रालयले त्यसको आवश्यक बजेटको उपलब्ध गराउने उहाँले भेटमा बताउनुभएको छ ।

त्यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिडदेनलाई पनि ज्ञापन पत्र बुझाइएको छ । राप्रपाका अध्यक्ष लिडदेनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य कुनै बिकल्प नरहेको बताउनुभयो । उहाँले कुनैपनि हालतमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

फोटो पनि छ ।

Leave a Reply