सिमरा,कलवार समुदायको कुल देवता बलभद्र भगवानको शनिवार बारा र पर्सामा भव्य पूजाको आयोजना गरिएको छ ।कलवार कल्याण समिति जीतपुरको आयोजनामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित समितिको निजी जग्गामा र कलवार कल्याण समिति वीरगञ्जको आयोजनामा महानगरको आदर्शनगरस्थित आफ्नैं भवनमा बलभद्र भगवानको सामुहिक पूजाको आयोजना गरिएको हो ।जीतपुरमा आयोजित पूजापूर्व शोभा यात्रा निकालिएको थियो । बाजागाजा र घोडदौलसहित हजारौं भक्तजनहरूको सहभागितामा पूजा स्थलबाट बिहान निकालिएको शोभा यात्राले जीतपुर नगर परिक्रमा गरि विधिवत रुपमा पूजा आरम्भ गरेको थियो । सामुहिक पूजाको मुख्य जजुमानको रुपमा वडा नम्बर ७ का पूर्ववडा अध्यक्ष रामबाबु गुप्ता र उहाँकी पत्नीले पूजा अवधीभर उपवास (चौका) बसेर पूजालाई पूर्णता दिलाएका थिए ।यस्तै कलवार समितिले आयोजना गरेको कुल देवता बलभद्र भगवानको पूजामा कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ताले कलवार समिति जीतपुरको निजी जग्गामा भवन बनाउन र धर्मशाला निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । त्यस्तै उहाँले पूजा धुमधामको साथ सम्पन्न गरेकोमा आयोजकलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।वडाध्यक्ष गुप्ताको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा पूर्वकार्यसमितिका पदाधिकारीहरुलाई वडाध्यक्ष गुप्ताले सम्मानपत्र सहित बिदाई गर्नुभएको िथयो । त्यसैगरी समितिका उपाध्यक्ष लालबाबुप्रसाद साह कलवारले नयाँ कार्यसमितिका अध्यक्ष कन्हैयाप्रसाद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै पदभार ग्रहण गराउनुभएको थियो । पूजामा जीतपुर कलवार समाजका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


















