शिक्षक भनेका गुरु हन् । ज्ञान र सीप सिकाउने अनि आफ्ना चेलाहरुलाई सही मार्गमा हिँड्न सिकाउने व्यक्ति भनेकै शिक्षक हो । शिक्षक समाजको ऐना पनि हो । यसैका आधारमा सभ्य समाजको पनि निर्माण हुने गर्दछ । एउटा गुरुले दिने शिक्षा अनि गुरुको ज्ञानले पनि समाज परिवर्तनमा धेरै असर गर्दछ तर यदि शिक्षकहरु नै गलत बाटोमा लागे भने के होला ? यो गम्भीर प्रश्न हो । सभ्य समाजका लागि यो कल्पना समेत गर्न सकिने कुरा पनि होइन ।तर, अहिले यस्तै भएको छ । कलिला बालबालिकाहरुको भविष्यमाथि कत्लेयाम गर्दै देशभरका सरकारी विद्यालयका शिक्षकहरुको ताण्डव अहिले काठमाडौंमा चलिरहेको छ । त्यसो त शिक्षकहरुलाई आन्दोलन गर्न उस्काउने सरकारी पनि कम्ति दोषी छैन । विद्यालयमा पढाइ रहेका शिक्षकहरुलाई आन्दोलनमा धकेल्ने काम त सरकारले नै गरेको हो । तर, यसो भन्दैमा दोष सरकारलाई मात्रै थुपारेर पुग्दैन मुख्य दोषि चैं शिक्षकहरु नै छन् ।शिक्षक आन्दोलनका पछाडि धेरै स्वार्थ छन् । स्थानीय तहलाई बलियो बनाउने भन्ने अनि स्थानीय तहको अधिनमा शिक्षकहरु बस्न नखोज्नुको पछाडि केवल स्वार्थ मात्रै छ । यो आन्दोलनमा कयौं त यसै पनि लागेको देखिन्छ । त्यसैले शिक्षकहरुलाई सरकारले पनि संझाउन सक्नु पर्दछ र आन्दोलनमा जाने शिक्षकहरुले आनदोलनमा रहने अवधिभरिको तलब भत्ता नलिने पनि निर्णय गर्न सक्नुपर्दछ नत्र शिक्षक अराजक बनाउने फेरि दलहरु नै हुन् ।

















