कुनै पनि देशको आर्थिक विकासको मुख्य मेरुदण्ड भनेको निजी क्षेत्र हो । निजी क्षेत्रको श्रीवृद्धि बिना त सरकारले पनि प्रगति गर्न सक्दैन । सरकारका लागि राजश्वको प्रमुख श्रोत भनेको पनि निजी क्षेत्र नै हो । निजी क्षेत्रमा भएको लगानीको आधारमा त्यो देशको आर्थिक वृद्धि दर पनि मापन गर्न सकिने हो । देशको प्रतिव्यक्ति आय बढाउन र गरिबी घटाउन पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक छ । तर, नेपालमा लगानीको उचित वातावरण नहुँदा भने उद्योगी व्यवसायीहरुले विभिन्न समस्या झेल्दै आइरहनु परेको छ ।खासगरी वीरगञ्ज क्षेत्रमा पनि उद्योगहरुको संख्या त धेरै छ । वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा उद्योगहरु स्थापनाको गति पनि उल्लेख्य रुपमा सुधार भएको देखिदैन । कुनै न कुनै हिसाबले उद्योगहरु प्रताडित छन् । कहिले कोरोना महारमारीका कारण, कहिले श्रमिक समस्याका कारण त कहिले विभिन्न आन्दोलनका कारण उद्योगहरुले चाहे जसरी प्रगति गर्न पाएका छैनन् । तैपनि यही करिडोरको सिमरा क्षेत्रमा फेरि नयाँ उद्योग क्षेत्र स्थापना हुने भएको छ ।उद्योगहरु स्थापना हुनु पनि राम्रो पक्ष हो । यसले मुलुको स्वरोजगारलाई त बढाउछ नै साथमा राज्यलाई पनि फाइदा हुन्छ । तर, लगानीको उचित वातावरण निर्माण गर्ने काम भने सरकारको हो । सरकार भने यो विषयमा जति गम्भीर र संवेदनशील हुनुपर्ने हो, त्यो हिसाबले भएको देखिदैन । सरकारले निजी क्षेत्रलाई जसरी प्रोत्साहन गर्नुपर्ने थियो त्यसरी पनि गरिरहेको छैन । अहिले देशमा रहेका तिनै तहका सरकारहरुले उद्योगमंैत्री नीति बनाउने बनाउन आवश्यक छ ।