जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको समन्वयमा बाराको जीतपुर बजारमा आयोजना गरिएको ३ दिने नापातौल शिवीर बिहीवार सम्पन्न भएको छ ।नापतौल तथा गुणस्तर विभागको वीरगञ्ज कार्यालयबाट खटिएका कर्मचारीहरुद्वारा जीतपुरसिमराका व्यवसायीको नापतौल सामग्री परीक्षण तथा प्रमाणपत्र नवीकरण कार्यका लागि शिवीरको आयोजना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष गजेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।
मंगलवारदेखि तीन दिनसम्मका लागि जीतपुरसिमरा उद्योग वाणिज्य संघको कार्यालय जीतपुरमा शिवीर सञ्चालन गरिएको गुप्ताले बताउनुभयो । उहाँका अनुसार बुधवार र विहीवार सिमरास्थित आन्तरिक राजश्व कार्यालयसंगै रहेको उद्योग वाणिज्य संघको सेवाकेन्द्रमा शिवीर सञ्चालन गरिनेछ ।
त्यसैगरी शुक्रवार जीतपुरसिमरा १५ डुमरवानास्थित वडा कार्यालय र शनिवार जीतपुरसिमरा २१ अमलेखगञ्जस्थित वडा कार्यालयमा पनि नापतौल सामग्री जाँचका लागि घुम्ति शिवीर सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभययो ।
उपाध्यक्ष गुप्ताका अनुसार जीतपुरसिमराका व्यवसायीहरुलाई वीरगञ्जसम्म पुग्न झण्झटिलो हुने भएकाले समय तथा पैसा दुबैको बचतसहित सरल सेवा प्रदान गर्ने उद्देश्यले नापतौल कार्यालय वीरगञ्जसंग समन्वय गरि शिवीर सञ्चालन गरिएको हो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले उपमहानगरपालिकाको डुमरवाना र अमलेखगञ्ज क्षेत्रका व्यवसायीहरुलाई पनि शिवीरमा नापतौल सामग्री अद्यावधिक गर्न आग्रह गर्नुभयो । नापतौल सामग्रीको अनुगमनका क्रममा हुने कारबाहीबाट बच्न समेत नापतौलका सामग्री अद्यावधिक आवश्यक रहेकोभन्दै अध्यक्ष शर्माले शिवीरको फाइदा उठाउन आग्रह गर्नुभएको होे ।नापतौल सामग्रीको जाँच शिवीरमा उद्योग वाणिज्य संघले आफ्ना व्यवसायीको प्रमाणपत्रसमेत संगै नवीकरण गर्ने सुविधा उपलब्ध गराइएको संघका कोषाध्यक्ष रामबाबु कलवारले बताउनुभयो ।


















