यसो देशको अवस्था हेर्यो भने जताततै विकृति र विसंगति छ । जनताको आवाज उठाउने थलो व्यवस्थापिका संसद बन्धक छ । सत्ता पक्ष र प्रतिपक्षको जुहारीका कारण सदन अवरुद्ध हुँदा आम नागरिकहरुको विषयले सदनमा प्रवेश पाउन सकेको छैन । उता, प्रदेशको अवस्था हेरे पनि त्यस्तै छ । त्यसमा पनि मधेस प्रदेशको अवस्था सुदृढ हुनसकेको छैन । मधेस प्रदेश सरकारले अझै राम्रोसंग पूर्णता पाइनसकेको अवस्था छ ।जनता भने पछिल्लो समय डेंगी संक्रमणबाट पीडित छन् । बिहीवारसम्मको सरकारी तथ्यांक हेर्ने हो भने डेंगीले १२ जनाको ज्यान लिइसकेको छ । मधेस पनि यो झन विकराल समस्याको रुपमा छ ।बारा र पर्सा जिल्ला त झन् लामखुट्टेको बिगबिगी संधै जसो हुने ठाउँ नै हो । त्यसैले पनि लामखुट्टे नियन्त्रणका लागि हुनुपर्ने जति प्रयास भइरहेको छैन । जसकाकारण नागरिकहरुले डेंगीका कारण अनाहकमा ज्यान गुमाउन परिरहेको छ ।डेंगी नियन्त्रण गर्ने जिम्मेवारी र दायित्व सरकारको हो । अहिले तीन तहका सरकार छन् । यी तीनै तहका सरकारले आफ्ना नागरिकहरुलाई डेंगीबाट जोगाउनका लागि विशेष अभियान संचालन गर्नु पर्दछ । उनीहरु कानमा तेल हालेर बस्न हुदैन । जसरी रोग नियन्त्रण गर्ने बारेमा संघीय सरकार रमिते भएर बसेको छ, त्यसरी नै प्रदेश र स्थानीय सरकार पनि बसेका छन् । एक प्रकारमा भन्ने हो भने डेंगीले महाहारीको रुप लिएको छ । त्यसैले अब तत्काल डेंगी बिरुद्ध अभियान ‘ंचालन गर्न आवश्यक छ ।

















