जनकपुरधाम,सात वटै प्रदेशमध्ये बजेट नल्याउने सबैभन्दा बढी स्थानीय तह मधेश प्रदेशका रहेका छन् । नयाँ आर्थिक वर्ष शुरु भइसक्दासमेत देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय २८ वटाले मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट पेश गरेका छन् ।सबैभन्दा बढी मधेश प्रदेशका ६० वटा स्थानीय तहसहित सातवटै प्रदेशका १ सय २५ वटा स्थानीय तहले बजेट पेश नगरेको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका जम्मा १ सय ३६ वटा स्थानीय तहमध्ये ७६ वटाले मात्रै बजेट पेश गरेका छन् ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने व्यवस्था छ । गाउँसभा तथा नगरसभामा पेस भइ पारित भएको विवरण सङ्घीय मामिला मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ ।बजेट पेस गरेका तर गाउँसभा तथा नगरसभाबाट पारित हुन बाँकी रहेका पालिकालाई पनि बजेट पेस भएको विवरण जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।



















