नेपाल कृषि प्रधान देश हो । यहाँका अझै पनि ७० प्रतिशत नागरिकहरु कृषिमा नै आश्रित छन् । तर कृषकहरुको अवस्था हेर्दा यस्तो प्रतीत हुन्छ, उनीहरुलाई छानीछानी मार्ने काम गरिरहेको छ । किसानहरुको ज्यान नै मारिएको छ भन्न खोजिएको त होइन यद्यपि ज्यान मारेकोभन्दा कम सास्ति भोग्नुपरेको छैन नेपालका किसानहरुले । एक त प्रकृतिले कृषकलाई साथ दिएको हुदैन साथमा मानिसले समेत अनेक बाहनामा कृषकमाथि ज्यादती गर्ने गरेका छन् ।केरा उत्पादनका लागि निकै महत्वपूर्ण मानिने बाराको निजगढका केरा कृषकहरुको पीडाले भने नियतमाथि नियती नै खनिएको आभाष भएको हुन्छ । प्रकृतिले ठगेको कृषकहरुमाथि बीमाको नाममा फेरि थप पीडा दिने काम भएको छ । जसले बीमाको जिम्मा लियो, उसैले कृषकहरुलाई तड्पाइ रहेको छ ।वास्तवमा यस्तो कार्यमा संलग्न जो कोही भएपनि हदैसम्मको कारबाही हुनुपर्ने हो तर नेपालमा यस्तालाई कारबाही हुदैन ।केरा उत्पादन गरी नेपाललाई केरामा आत्मानिर्भर तुल्याउने र स्वदेशी केरालाई प्रोत्साहन गरेर देशभित्रै रोजीरोटी सृजना गरिरहेका कृषकहरु आन्दोलनमा उत्रन बाध्य भएका छन । बीमाका विषयमा कृषकहरु आन्दोलनमा उत्रनु पर्ने अवस्था आउनु भनेको लाजमर्दो कुरा हो । कृषक माराहरुलाई काराबाही हुनुपर्छ । सरकारमा बसेकाहरुले पनि बेलैमा कृषकहरुको पक्षमा निर्णय गर्न आवश्यक छ ।















