राजकुमार यादव

मौलापुर,आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि यतिबेला सबै उम्मेदवारहरू मतदाताहरुसंग घरदैलो अभियानमा व्यस्त रहेका छन् । सबैको एउटै लक्ष्य हो निर्वाचनमा आफ्नो लागि मत माग्ने । यसका लागि उम्मेदवारहरूले मतदाता समक्ष्य आफू निर्वाचित भएपछि गर्ने कामको प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।

रौतहटको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा धेरै जना उम्मेदवार भएता पनि मुख्य प्रतिस्पर्धामा भने स्वतन्त्रबाट उम्मेदवार प्रभु साह र अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश साहबीच हुने देखिएको छ । प्रभु साहले नेकपा एमालेको विकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएको हो भने ओमप्रकाश कांग्रेशका बागी उम्मेदवार हुनुहुन्छ । यी दुई उम्मेदवारबीच भने मतदाताले मौकामा कसले बढी विकास निर्माणको काम गरेको छ भनेर मूल्याङ्कन गर्ने गरेका छन् ।

त्यस्तै सत्ता गठबन्धनमा माओवादीको टिकटबाट उम्मेदवारी दिनुभएका धिरज पटेलले स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वमन्त्री साहलाई समर्थन गर्न अस्वीकार गरेपछि सो क्षेत्रको निर्वाचन रोचक बनेको छ । आफ्नो कोटाबाट उम्मेदवार बनेका पटेललाई समर्थन गर्न माओवादीको केन्द्रीय समितिले दिएको निर्देशने अस्वीकार गर्दै पटेलले जुनावी अभियानलाई जारी राख्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार एवं पूर्वमन्त्री साहलाई चुनाव जितेपछि पार्टीमा भित्र्याउने रणनितिअनुरुप माओवादी केन्द्रले पटेललाई पछि हट्न निर्देश गरेको जानकारी दिँदै माओवादी पार्टीका जिल्ला संयोजक देवेन्द्र पटेलले उम्मेदवारी फिर्ताको समय सकिएको भोलिपल्ट नेता साहलाई समर्थन गर्न पार्टीले निर्देशन दिएको बताउनुभयो । उहाँकाअनुसार नेता पटेलले पार्टीको निर्देशनको सहर्ष पालना गर्नुपर्ने अन्यथा परिस्थिति बिग्रन सक्छ छ ।

अघिल्लो स्थानीय निर्वाचनमा टिकटबाट वञ्चित भइ माओवादी पार्टी त्याग गरेका नेता पटेल पुनः माओवादीमै फर्किएपछि पार्टीले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाएको र नेता साहलाई समर्थन गर्ने अवस्था आएमापछि हट्नुपर्ने सर्तसमेत राखेको बताइएको छ ।

नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहनुभएका साहले एमाले पार्टीको टिकट परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएपछि एमालेले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ ।

माओवादीबाट राजनीति सुरु गर्नुभएका पूर्वमन्त्री साह तत्कालीन नेकपा विभाजन भएपछि नेकपा एमालेमा लाग्नुभएको थियो । तर पार्टीले आफूले भनेअनुसरा अन्य क्षेत्रमा पनि टिकट नदिएपछि उहाँले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा अहिले सबैका ध्यान ३ नम्बर क्षेत्रमा केन्द्रीत छ । त्रिकोणात्मक प्रतिस्पर्धा रहेको सो क्षेत्रमा कसले बाजी मार्ने हो कसैले आकलन गर्न सकेका छैनन् । तर स्वतन्त्र उमेदवार प्रभु साह र ओमप्रकाशबीच प्रतिस्पर्धा हुने स्थानीयहरुको भनाइ छ । साह रौतहट क्षेत्र नं. ३ बाट २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

ओली मन्त्रीपरिषदमा नेपाल सरकारको शहरी विकास मन्त्री बन्नुभएको थियो । संविधानसभा निर्वाचन, २०६४ संविधानसभाको चुनावमा साहले ११,६२५ मत ल्याउनुभएको थियो भने संविधानसभा निर्वाचन २०७० को चुनावमा १३,००९ मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यस्तै प्रतिनिधिसभा निर्वाचन, २०७४ मा गृह जिल्ला रौतहट –३ बाट निर्वाचित हुनुभएको थियो । साह २०६८ मा झलनाथ खनाल क्याबिनेट अन्तर्गत कानुन र संवैधानिक मामिला मन्त्री पनि हुनु भयो । २०७४ मा शेरबहादुर देउवा मन्त्रिपरिषद् अन्तर्गत शहरी विकास मन्त्री र भूमि व्यवस्थापन, सहकारी र गरीबी निवारण मन्त्री हुनुभएको थियो ।

रौतहटमा साहको विकासको चर्चा बढेको छ । प्रभु साहलाई रौतहटमा विकासको काम गर्ने नेताको रूपमा मतदाताले बुझेका छन । यता ओम प्रकाश ब्यापारिक पृष्ठभूमिबाट आएको र व्यापारमै व्यस्त रहेकाकोले मतदाताको खासै आकर्षण देखिएको छैन । तर नेपाली कांग्रेशको राजनीतिक पृष्ठभूमि भएको र उहाँलाई नेकपा एमालेले पनि समर्थन गरेकोले उहाँको अवस्था पनि कमजोर आकलन गर्न नसकिने स्थानीयको भनाइ छ ।

Leave a Reply