वीरगञ्ज,वीरगञ्जको सिर्सिया नदीको प्रदूषण र अतिक्रमण नियन्त्रणको माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा चुरे तथा वनजङ्गल संरक्षण अभियानले सुरु गरेको धर्नामा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले ऐक्यबद्धता जनाउनुभएको छ ।आइतबार अपरान्ह ४ बजेतिर माइतीघर मण्डला पुग्नुभएका जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतकसमेत रहनुभएका यादवले अभियानको धर्नामा ऐक्यबद्धता जनाउनुभएको हो ।
त्यसक्रममा उहाँले धर्नामा बस्नुभएका चुरे तथा वनजङ्गल संरक्षण अभियानका संरक्षक सरोज राय यादव र संयोजक सुनिल यादवसहितका अभियन्ताहरुले दिएकोे माग सहितको ज्ञापनपत्र पनि बुझ्नुभएको थियो ।सङ्घीय सरकारको उदासिनताका कारण सिर्सिया नदीको प्रदूषण र अतिक्रमण हटाउन नसकिएको उहाँले आरोप लगाउँदै नदीलाई प्रदूषित गर्ने उद्योगलाई सरकार र सम्बन्धित मन्त्रालयले तत्काल कारबाही गर्नुपर्ने माग पनि गर्नुभएको छ ।सामाजिक सञ्जाल फेसबूकमार्फत धर्नामा ऐक्यबद्धता जनाएको जानकारी गराउँदै पूर्ववन तथा वातावरणमन्त्री समेत रहेका यादवले लेख्नुभएको छ– ‘वीरगञ्जको सिर्सिया नदीको प्रदूषित पानी बोकेर पदयात्रा गर्दै काठमाडौँस्थित माइतीघर मण्डलामा धर्ना दिइरहनु भएका चुरे तथा वनजङ्गल संरक्षण अभियानका साथीहरुसँग भेटघाट गर्दै उहाँहरुको मागपत्र बुझेको छु । उहाँहरुको धर्नामा मेरो ऐक्यबद्धता छ ।सङ्घीय सरकारको उदासिनताका कारण दसकौंदेखि प्रदूषण र अतिक्रमणको चपेटामा परेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सकिएको छैन । नदीलाई प्रदूषित बनाउने उद्योगलाई कारबाही गर्न सरकार र सम्बन्धित मन्त्रालयले एक्सन लिनै पर्छ ।’उहाँले सिर्सिया बारे आफूले आवाज उठाउँदै आएको र अभियान बारे पनि यसअघि नै संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइसकेको जानकारी गराउँदै थप्नुभएको छ– ‘उहाँहरुको अभियान बारे मैले यसअघि नै सम्मानित सदनमार्फत सरकारको ध्यानाकर्षण गराइसकेको यहाँहरुलाई अवगत गराउन चाहन्छु । त्यसका साथै समयसमयमा प्राथमिकताका साथ नदीको विषयलाई मैले सडक र सदनमा कुरा उठान गरेको कुरा सर्वविधितै छ ।’यादवले आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा चुरे तथा वनजङ्गल संरक्षणको पदयात्रा बारे संसद्लाई जानकारी गराउनुभएको थियो । नदीलाई प्रदूषणमुक्त बनाउन वीरगञ्ज महानगरपालिकाको एकल प्रयास पर्याप्त नभएको बताउँदै उहाँले नदी प्रदूषित गर्ने कार्यमा जिम्मेवार उद्योगलाई कारबाही गर्न उद्योग मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।सङ्घीय सरकारका वर्तमान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पनि पर्सावासी भएको बताउँदै उहाँले सिर्सिया नदीको प्रदूषणलाई नियन्त्रण गर्न उहाँले गरेको काम बारे संसद्लाई जानकारी गराउन पनि माग गर्नुभएको थियो । ‘संघ सरकारका उद्योग मन्त्री पर्सावासी हुनुहुन्छ । सिर्सिया नदीलाई प्रदूषित गर्ने उद्योगलाई कारबाही गर्ने विषय उहाँको अधिकार क्षेत्रभित्र पर्छ । हालसम्म उहाँले यसको लागि के गर्नुभएको छ ? संसद्मार्फत जानकारी गराउन अनुरोध गर्दछु’, यादवले भन्नुभएको थियो । यादवले यसअघि पनि संसद्मार्फत सिर्सिया नदिको प्रदूषण र अतिक्रमणको विषयलाई उठाउँदै आउनुभएको थियो ।जेठ ४ गते वीरगञ्जस्थित सिर्सिया नदीको प्रदूषित पानी बोत्तलमा भरेर त्यहि दिनदेखि पैदल यात्रा थालेका अभियन्ताहरुले आइतबार ११ औं दिन काठमाडौँ पुगेर माइतीघर मण्डलामा धर्ना दिएका हुन् । चुरे तथा वनजङ्गल संरक्षण अभियानको अगुवाईमा आइतवार काठमाडौँ पुगेका करिब २५ जना अभियन्ताहरुले दिउँसो १ बजेदेखि धर्ना सुरु गरेका थिए ।धर्नाकारीहरुसंग उद्योगमन्त्री रमेश रिजालले पनि भेटेर धर्ना कार्यक्रम फिर्ता लिन आग्रह गर्नुभएको छ । मन्त्री रिजालको आग्रहलाई उनीहरुले अस्वीकार गरेका थिए । मंगलावार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई उपहार स्वरूप नदीको दूषित पानी दिँदै साङ्केतिक विरोध गर्ने योजना रहेको अभियानका संरक्षण सरोज राय यादवले बताउनुभयो ।

Leave a Reply