वीरगन्ज,स्रोत नखुलेको ठूलो रकमसहित पर्सा प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।पर्सा जिल्लास्थित विन्दवासिनी गाउँपालिकाबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वचम्पारण ग्राम पञ्चायत भेलाही निवासी ४० वर्षीय धनञ्जयप्रसाद गुप्ता र २६ वर्षीय मुसाहेब आलम रहेका छन् ।विन्दवासिनी– ५ को प्रसौनीभाटा पूल हुँदै वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ ४७०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी प्रसौनीभाटाबाट खटेको प्रहरी टोलीले रोकेर चेकजाँच मोटरसाइकल पछाडि बसेका गुप्ताले बोकेको झोलाबाट एक हजार दरको ८०० थान नोट र पाँच सय दरको ८०० थान नोट गरी कूल बाह्र लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिनुभयो ।डिएसपी गिरीकाअनुसार गुप्ता र आलमले रकमको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पछिल्लो पटक वीरगन्ज र आसपासका क्षेत्रमा नक्कली नेपाली नोट भेटिन थालेको अवस्थामा स्रोत नखुलेको यत्रो ठूलो रकम बरामद हुनुले थप शङ्का उत्पन्न गरेको छ ।पक्राउ परेकाहरु पनि नक्कली नोटको कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले पनि सोही एंगल तर्फ आफ्नो अनुसन्धान मोडेको पर्सा प्रहरीमा कार्यरत एकजना प्रहरी अधिकारीले बताउनुभयो ।डिएपी गिरीले गुप्ता र आलमसहित उनीहरु सवार मोटरसाइकल र रकमलाई नियन्त्रणमा लिएर नेपाल राष्ट्र बैंक ऐन २०५८ विरुद्धको कसूरमा पर्सा जिल्लाबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।यसअघि केहि दिनअगाडि पनि पर्सा प्रहरीले ठूलो मात्रामा नक्कली नेपाली नोटसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।



















