उमेश घलान
रतनपुर,निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा अवस्थित शक्तेश्वर झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ ।यस वर्ष सो क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको हो । मुख्यतया गर्मी याममा झरनाको दृश्यावलोकन र स्नान गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले गर्मी सुरु भएसँगै झरना हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले शनिवार र सार्वजनिक विदाको दिनमा झरना क्षेत्रमा भ्रमण गर्न सरदर ५ सयको संख्यामा मानिसहरु आउने गरेको जानकारी दिनुभयो ।शक्तेश्वरमा नयाँ वर्ष २०८० को पहिलो दिनदेखि नै अन्तरिक पर्यटकको आगमन बढेको हो । गत वर्षभन्दा यस वर्ष नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या वृद्धि भएको वडा अध्यक्ष घलानको भनाइ छ ।पर्यटकहरुको थप आकर्षणको लागि वडा कार्यालयले उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा समेत चासो दिएर काम गर्दैआएको छ । कार्यालयले झरना क्षेत्रसम्म पुग्ने सडकको कालोपत्रे, सार्वजनिक शौचालय निर्माणलगायतका संचरना तयार गरेको हो ।“आन्तरिक पर्यटकलाई लक्षित गरेर झरना क्षेत्रलाई थप आकर्षक तुल्याउन विभिन्न योजना बनाएर कार्यान्वय अघि बढाइएको घलानले जानकारी दिनुभयो । वडा कार्यालयले उक्त क्षेत्रको चौतर्फी विकासको लागि डिपीअर तयार गरेर मधेस प्रदेश सरकार समक्ष पेश समेत गरेको वडा अध्यक्ष घलानले जानकारी दिनुभयो । सो क्षेत्रमा मधेस प्रदेशकै अकर्षक झर्ना, शिवको मन्दिर, हनुमानको मुर्ति र देवघाट पोखरीलगायत अकर्षक स्थलहरु रहेको र उक्त क्षेत्रलाई मधेस प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने संभावना गरेको उहाँको भनाइ छ ।निजगढबाट उत्तरपश्चिम दिशामा पर्ने सो झरणा निजगढस्थित पूर्वपश्चिम राजमार्गको तामागढीबाट करिव १८ किमी दुरीमा रहेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगन्ज– चकरी सडक र निजगढ– रतनपुरी– डम्बरपुरको पक्की सडक प्रयोग गरेर पनि उक्र क्षेत्रमा पुग्न सकिन्छ ।
















