निजगढ,पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको धन्सार पुल नजिकको सडकबाट बेवारिसे अवस्थामा फेला परेकी भारतीय महिला र शिुशुको जिम्मा लिने आफन्तहरु हिजोसम्म पनि सम्पर्कमा नआइपुगेको प्रहरीले जानकारी दिएको छ ।बेवारिसे अवस्थामा फेला परेकी महिलाको माइती पक्षको पहिचान गरेर प्रहरीले फोनमार्फत बुधवार नै उनीहरुलाई आमा र शिशुको जिम्मा लिन कलैया बोलाएको भएपनि बिहीवारसम्म उनीहरु मध्ये कोही पनि सम्पर्कमा आइनपुगेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उपरीक्षक बोगटीले महिलाको माइती पक्षका आफन्तहरु प्रहरीको निरन्तर सम्पर्कमा नै रहेको र उनीहरुले शुक्रवार बिहानसम्ममा आइपुग्ने भनेर जानकारी दिएको पनि बताउनुभएको छ ।आफन्त आएपछि प्रहरीले दुबैलाई जिम्मा लगाउने तयारी गरेको छ । आमा र शिशुलाई हाल प्रादेशिक अस्पताल कलैयामा चिकित्सकको निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।गत मंगलवार बेवारिसे अवस्थामा शिशु फेला परेपछि प्रहरीले आमा दाबी गर्ने महिलालाई पनि भोलिपल्ट बिहान धन्सार पुल नजिकैको सडकबाट बेवारिसे अवस्थामा नै फेला पारेको थियो ।महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उद्धार गरिएकी महिलाले आफ्नो घर भारत मोतिहारी भएको बताएकी छिन । पती गुड्डु सिंहले मोतिहारीबाट रौतहटको नुनथर दर्शन गर्न भनेर दुबैलाई नेपाल ल्याएको र बेहोस बनाएर जंगलमा छोडेको महिलाको भनाइ छ । गुड्डुले सितामडीबाट साथीको गाडीमा राखेर उनीहरुलाई नेपाल ल्याएको ति महिलाले प्रहरी समक्ष बताएकी छिन । बाटोमा मदिरा सेवन गराएर बेहोस बनाएपछि आमालाई जंगलभित्र र शिशुलाई सडक किनारामा छोडेर गएको महिलाको भनाइ उद्र्धित गर्दै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here