कलैया,लिखत सम्बन्धी कसुरमा प्रहरीले जनता समाजवादी पार्टी बारा जिल्लाका पूर्वअध्यक्ष अजयकुमार पटेललाई पक्राउ गरेको छ ।केन्द्रिय अनुसन्धान ब्युरोको टोली सीआईबीमा परेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी नायब उपरीक्षक एंव बाराका प्रहरी प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।परवानीपुर गाउँपालिका वडा नं. ५ निवासी ४५ वर्षीय पटेललाई मोही नभएको जग्गामा मोही छु भनी किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।मोहि नभएको जग्गामा मोही छु भनी झुठो कागजात तयार गरी जग्गाको मठमा मोही चढाएकोले पटेल विरुद्ध सीआईबीमा उजुरी परेको उहाँको भनाइ छ ।पटेलले काठमाण्डौंका एकजनाको नाममा रहेको करिब ६ बिघा जग्गामा मोही छु भनी किर्ते गरेको आरोप लागेको प्रहरीले जनाएको छ । साविक बहुअरी गाविस वडा नं.६ कि.नं.४१ ज.बि.५–१९–१५ को सो जग्गा २०२२ सालदेखि नै जिल्ला काठमाडौं वडा नं. ५ बस्ने विजयमणि आचार्य दिक्षितको नाममा दर्ता रहेको देखिएको प्रहरीले बताएको छ ।प्रहरीले बारा जिल्ला अदालतबाट पूर्जी लिएर खोजतलास गर्ने क्रममा सोमवार लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको र मंगलवार बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान कार्य जारी रहेको जनाएको छ ।

Leave a Reply