वीरगन्जवीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहाँमा दादुरा र ठेउला जस्तै लक्षण देखिएका बिरामी चिकेनपक्सको संक्रमित भएको पाइएको छ ।

दादुरा र ठेउलाको लक्षणसँग मिल्दोजुल्दो बिरामी देखिएको खबर आएसँगै महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाबाट ल्याबसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले त्यहाँ देखिएका बिरामी चिकेनपक्सको संक्रमित भएको पुष्टि गरेको हो ।
चिकेन पक्स सरुवा रोग भएको र यो हरेक वर्ष जसो छिटफुट व्यक्तिमा देखिने गरेको महानगरका जनस्वास्थ्य निरीक्षक सुनिल कुर्मीले जानकारी दिनुभयो ।
‘अठराहाँमा दादुरा र ठेउलाका बिरामी भेटिएको भन्ने खबर आयो,’ कुर्मीले भन्नुभयो, ‘खबर आएसँगै महानगरको स्वास्थ्यकर्मीको टोली ल्याबसहित गाउँमा पुगेर बिरामीको स्क्रिनिङ, रोगको इतिहास र शारिरिक परीक्षण गर्दा चिकेनपक्स भएको खुल्यो ।’
वडा नम्वर २६ को सुगौली स्वास्थ्य चौकीमा पछिल्लो केही दिनदेखि यस्ता बिरामीहरु उपचारका लागि आउने गरेका थिए । बिहीवारसम्म त्यस क्षेत्रबाट ९१ जनामा यस्तो लक्षण भएकाहरु उपचारका लागि स्वास्थ्य चौकीमा आएको स्वास्थ्य चौकी इन्चार्ज पुजा गुरुङले जानकारी दिनुभयो ।
७५ जनामा संक्रमण निको भइसकेको र बाँकी बिरामीको अवस्था पनि सामान्य रहेको उहाँले बताउनुभयो ।
ठूलै संख्यामा दादुरा र ठेउलासँग लक्षण मिल्ने बिरामी भेटिएपछि आफूले थप सहयोगका लागि महानगरपालिकाको स्वास्थ्य महाशाखामा जानकारी गराएको उहाँले बताउनुभयो । जानकारी पाएसँगै पुगेको टोलीले घरघरमै पुगेर बिरामीलाई भेट्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था परीक्षण गरेको थियो ।
टोलीले स्थानीयलाई भेला गरेर चिकेनपक्स बारेमा स्वास्थ्य चेतना जगाउने काम गर्नुका साथै स्वास्थ्य स्वंयसेवीहरुलाई टोलटोलमा परिचालन गराएको छ ।
विगतका वर्षमा छिटफुटमा देखिएको यो बिरामी वीरगन्जमा एउटै ठाउँमा यति धेरै संख्यामा भने पहिलो पटक देखिएको जनस्वास्थ्य निरीक्षक कुर्मीले बताउनुभयो ।
चिकेनपक्स विशेष गरेर २ वर्षदेखि १० वर्ष उमेर समुहका बालबालिकामा देखिने गरेको भएपनि यहाँ जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि देखिएको पाइएको जनाइएको छ ।


















