जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिकाले राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्न दर्ता स्टेशन स्थापना गर्ने भएको छ ।नगरबासीको सहजताको लागि वडा नं. ७ को कार्यालय जीतपुरमा दर्ता स्टेशन राख्ने उपमहानगरपालिकाले तयारी गरेको हो । उपमहानगरपालिकाले पुस १७ गते आइतवारदेखी दर्ता स्टेशन संचालनमा आउने जनाएको छ । उक्त दर्ता स्टेशनबाट राष्ट्रिय परिचय पत्र निर्माणसम्बन्धि सबै काम हुनेछन् ।दर्ता स्टेशनका रुजु अधिकारी एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकृत सुदन चौधरीले परिचय पत्र बनाउन चाहने नगरबासीले दर्ता स्टेशनबाट सेवा लिन सक्ने बताउनुभयो ।यसअघि इलाका प्रशासन कार्यालयबाट परिचय पत्र निर्माणको काम हुँदै आएको थियो । पुस १७ गतेपछि उपमहानगरपालिकाबासिन्दाले परिचय पत्र बनाउन दर्ता स्टेशनमा सम्पर्क राख्नुपर्ने अधिकृत चौधरीले बताउनुभयो । केन्द्रमा खटिने एक जना प्राविधिक सहयोगीले अनलाइन फारम भर्ने, फोटो खिच्ने काम गर्नेछन भने फारमको रुजु अधिकृत चौधरीले गर्नुहुने छ ।


















